Logo
११ बैशाख २०८१, मंगलबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अङ्ग्रेजी नयाँ वर्षको रौनक : सौराहाका होटलहरु पर्यटकले भरिभराउ

चितवन : पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बस्न थालेका छन्।

नारायणगढ-मुग्लिन सडक सहज भएसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन यहाँ आएका छन्। सङ्घका उपाध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा सोमबार राति कुटुम्ब ब्याण्डको प्रत्यक्ष प्रस्तुति रहेको थियो भने केही होटलले समेत साङ्गीतिक कार्यक्रम आयोजना गरेका थिए।

होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीका अनुसार सोमबारदेखि तीन दिनसम्म होटल पुरै बुकिङ रहेको छ । ठूला अधिकांश होटल पुरै बुकिङ भएको उनले बताए। सौराहाको रेष्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए। राप्ती किनार पर्यटकले भरिएको छ ।

निकुञ्जसँग जोडिएका सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको व्यवसायीले बताएका छन् । सौराहामा मात्र सानाठूला गरी ११० होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन्। दैनिक दुई हजार पाँच सय पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ ।

साठीभन्दा बढी रेस्टुराँ र एक सय साना पर्यटन व्यवसाय सञ्चालित छ । यहाँ वार्षिक दुई लाख हाराहारी पर्यटक आउँछन्। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । हात्ती चढेर जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहन्छ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्