Logo
७ बैशाख २०८१, शुक्रबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक विदा : गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाईदै

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ बर्ष र ‘सार’ को अर्थ फेरिनु रहेको छ । गुरुङ समुदायले नयाँ बर्षको रुपमा आजको दिनलाई धुमधामका साथ मनाउने गरेका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको जनविश्वास छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्बदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

तमु ल्होसारको टुँडिखेलमा आज विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिदै यस पर्वले आपसी सद्भाव बढाई आर्थिक र सामाजिक रुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्षको रुपमा मनाइने ल्होसार पर्वका अवसरमा सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सफल पार्न समेत यस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो । नेपालको विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्वहरु विगतमा धेरै सक्रिय भएको भन्दै उहाँले नेपालीहरुको एकताले त्यस्ता तत्वहरुको प्रयास सफल हुन नसकेको उल्लेख गर्नुभएको छ ।

यसैबीच, ल्योसार पर्वको अवसरमा गण्डकी सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरूको पर्व ल्योसारको अवसरमा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै पुस १५ गते आइतबार गण्डकी प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको हो । उक्त बिदामा प्रदेशको सबै सरकारी कार्यालय बन्द रहेको छ । प्रदेश सरकारको निर्णय संघ अन्तरगतको कार्यालयहरुमा समेत लागू हुनेछ ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्