Logo
१३ बैशाख २०८१, बिहीबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समय परिवर्तन सँगै पहिलो पटक हाइकु प्रदर्शनी

परासी : सामान्यत साहित्यिक रचनाहरु लेखन वा वाचन गरी स्रोता, दर्शक वा पाठकमाझ प्रस्तुत गरिन्छ । तर समय परिवर्तन सँगै अब साहित्यलाई प्रदर्शनी पनि गरिने भएको छ । छोटो साहित्यको रूपमा परिचित हाइकु विधालाई प्रदर्शनी गरी आम जनसमुदायमा परिचित गराउन नेपालमा पहिलो पटक पश्चिम नवलपरासीमा नौलो अभ्यास गर्न लागिएको हो ।

‘कवि खगेन्द्र बस्यालको एकल हाइकु रचना प्रदर्शनी’ कार्यक्रम बर्दघाट नगरपालिका–१२ भटौलिया बजारमा पुस १४ गते जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा हुन लागेको हो । नेपाल रेडक्रस सोसाइटी बुद्धमङ्गल उपशाखा, मझेरी आमा समूह र सिर्जनशील आमा समूह जहदाको सहआयोजना रहने सो कार्यक्रममा कवि बस्यालका हाइकुलाई प्लेकार्डमार्फत प्रदर्शन गरिने पुस्तकालयका अध्यक्ष सुरज केसीले जानकारी दिए।

कार्यक्रममा नवलपरासी, रुपन्देही, चितवनलगायतका वरिष्ठ साहित्यकार, साहित्यप्रेमी, आमा समूह, विद्यार्थी तथा सर्वसाधारण गरी करीब ५०० को सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमबाट प्रत्यक्ष ५०० र अप्रत्यक्ष रुपमा १ लाख मानिसले हाइकुको बारेमा बुझ्ने र जानकारी लिन पाउने उनले बताए ।

स्थानीय मिडिया तथा सामाजिक सञ्जालबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ । यसबाट साहित्यप्रति थप रुचि जाग्ने र हाइकुलाई परिचित गराई नेपाली साहित्यमा स्थापित गराउन थप मद्दत पुग्ने आयोजकको विश्वास छ ।

हाइकुको माध्यमबाट देशको परिस्थितिलाई झक्झक्याउने भएकाले कवि बस्यालको कलालाई उजागर गर्न समेत प्रदर्शनीले टेवा पुग्ने कार्यक्रम संयोजक साहित्यकार दीपक बरालले बताए ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्