Logo
१३ बैशाख २०८१, बिहीबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियान, एक महीनामै पाँच हेलिप्याड निर्माण

गलेश्वर : आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ ।

दुई महीनाभित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियान अन्तर्गत एक महीनाको अवधिमा जिल्लाका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाका पाँच वडामा हेलिप्याड निर्माण भइसकेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

प्रजिअ अधिकारीले दिएको जानकारीअनुसार मालिका गाउँपालिका देवीस्थान, मङ्गला गाउँपालिका-२ हिदी, रघुगङ्गा गाउँपालिका-६ पाखापानी, मालिका गाउँपालिका-२ रुम र कुहूँको महभीरमा हेलिप्याड निर्माण भइसकेको छ । अन्य वडामा पनि हेलिप्याड निर्माणका लागि स्थल छनोटको काम भइरहेको जनाइएको छ ।

एउटा हेलिप्याड बनाउन करीब रु ३० हजार खर्च लाग्छ । स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरेको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।

विकट वडाको एक बस्तीबाट अर्कोमा पुग्न एक दिनसम्म लाग्ने भएकाले एउटै वडामा तीन वटासम्म हेलिप्याड आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले औँल्याएका छन् ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्