Logo
७ बैशाख २०८१, शुक्रबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राकृतिक उपचारस्थलको रूपमा परिचित तातोपानी कुण्डलाई भाडामा दिन प्रस्ताव

म्याग्दी : प्राकृतिक उपचारस्थलको रूपमा परिचित बेनी नगरपालिका-४ स्थित तातोपानी कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव आएको छ ।म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले बेनी नगरपालिका र सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिलाई कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव गरेको हो ।

नगरपालिकाको कार्यालयमा मङ्गलबार आयोजित छलफलमा मोनाका अध्यक्ष चक्र थापा र पूर्वअध्यक्ष योगेन्द्र क्षेत्रीले कुण्ड निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव गरेका ह्न् । उनीहरूले स्थानीयवासी र प्रवासी म्याग्देलीको लगानीमा अहिलेको भन्दा फरक हिसाबले व्यवस्थित रूपमा कुण्ड सञ्चालन गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले निजी क्षेत्रलाई भाडामा लिन प्रस्ताव गरिएको हो ।

नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य र सचिव कृष्ण खड्कालगायतले समुदायसँग छलफल गरेर मात्र निर्णय गर्न सकिने बताए । लगानी, व्यवस्थापन र सञ्चालनको मोडल स्पष्ट हुनुपर्ने र स्थानीयवासीको भावना बुझ्न थप छलफल गर्ने निर्णय भएको बैठकमा सहभागी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

प्रवासीले केही वर्षयता विभिन्न माध्यमबाट कुण्ड भाडामा दिनका लागि प्रस्ताव र पहल गर्दै आएका छन् । छलफलमा बेनपाका वडाध्यक्ष र कार्यपालिका सदस्य, मोनाका पदाधिकारी र तातोपानीका अगुवाको सहभागिता रहेको थियो । समुदायद्वारा सञ्चालित र विकास गरिएको कुण्डको आम्दानीले स्थानीय सरस्वती माध्यमिक विद्यालयमा निजी स्रोतका ११ शिक्षकको तलबभत्ताको व्यवस्थापन गरिँदै आएको छ ।

कुण्डको प्रवेश शुल्क र चन्दा सहयोगबाट पूर्वाधार निर्माण, कर्मचारीको तलब, व्यवस्थापन, नदी नियन्त्रणका साथै सामुदायिक गतिविधि र विकास निर्माणका काम गरिएको छ ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्