Logo
८ बैशाख २०८१, शनिबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसरी बन्छ समृद्ध मुलुक ? इन्धन चोरीमा संलग्नलाई कारबाही गर्दा व्यवसायीले नै गर्छन् विरोध

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले सरकार मुलुकमा सुशासन कायम गर्दैै समृद्धि हासिल गर्ने मार्गमा अघि बढेको बताउनुभएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घको १९ औँ वार्षिकोत्सवमा बोल्दै उहाँले विगतमा मुलुकको अवस्था कमजोर भएकाले नयाँ सरकार गठन भएको १० महीना बितेपनि परिणाम देखिन सयम लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार प्रक्रियागत जटिलता हल गर्दै अघि बढेको छ, अब सरकारको कामको परिणाम जनताले अनुभूत गर्न पाउँछन् ।” समृद्ध मुलुक निर्माण गर्न उद्योगी तथा व्यवासायीसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री यादवले उद्योगीले आफूमात्र बन्ने सोच त्यागी देश बनाउने भावना बोक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले हरेक प्रक्रियामा उद्योगीको सहभागिता चाहेको छ, उद्योगीको संरक्षण गर्ने मेरो कर्तव्य हो, सरकार र उद्योगीले एकआपसमा सहकार्य गरी जनताको भावना सम्बोधन गरौँ ।” इन्धन बोक्ने ट्याङ्करमा लकिङ प्रणाली लागू गर्दासमेत तेल चोरी भएको घटनाप्रति सरकार गम्भीर रहेको बताउँदै उहाँले इन्धन चोरीको घटनामा संलग्नलाई कारबाही गर्दा व्यवसायीले विरोध गर्नु आश्चर्यजनक भएको टिप्पणी गर्नुभयो ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले मापदण्ड विपरीत खोलिएको ग्यास उद्योगका कारण ठूलो जनधनको क्षति हुने सम्भावना औँल्याउँदै मावनवस्ती नजिकका ग्यास उद्योगलाई स्थानान्तरण गर्न उद्योगीलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “एलपी ग्यासका कारण हुने सम्भावित दुर्घटनालाई कम गर्न उद्योगी आफँै सचेत हुनुपर्छ, सिलिण्डरको गुणस्तरमा उद्योगीले कुनै सम्झौता गर्नुहुँदैन ।”

सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यास व्यवसायलाई सुदृढ र मर्यादित बनाउन सरकारको सहयोगको अपेक्षा गर्दै प्रत्येक उपभोक्तालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन उद्योगी तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०२८ सालदेखि नेपालमा एलपी ग्यासको प्रयोग हुन थालेको हो । नेपालको पहिलो ग्यास उद्योगका रुपमा बालाजुस्थित नेपाल ग्यास उद्योग स्थापना भएको थियो । अहिले नेपालमा ५९ वटा ग्यास उद्योगले सिलिण्डर बजारमा पठाउँदै आएका छन् । जसमा २८ वटा उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर प्रमाण चिह्न ९एनएस० प्राप्त गरेका छन् ।

करीब एक करोड सिलिण्डर बजारमा गएको सङ्घले जनाएको छ । प्रत्येक वर्ष १५ देखि २० प्रतिशतले एलपी ग्यासको खपत बढ्दै गएको नेपाल आयल निगमले जनाएको छ । ग्यास उद्योगमा रु ३० अर्बको लगानी भएको सङ्घका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्