Logo
४ बैशाख २०८१, मंगलबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अटो क्षेत्रमा जाने कर्जा बढ्यो, सेयर धितो भने यथावत, लगानीकर्ता सरकारसँग रुष्ट बन्दै

काठमाडौं : हालको मौद्रिक नीतिले अटो क्षेत्रमा जाने कर्जालाई ५० बाट बढाएर ६५ पुर्याए पनि सेयर धितोमा भने यथावत राखेपछि लगानीकर्ता सरकारसँग रुष्ट बन्दै गएको छ ।

मुद्रा तथा पुँजी बजारका समस्या र समाधानका लागि अर्थमन्त्री डा.युवराज खतिवडाले बनाएको कार्यादलले प्रतिवेदन तयार पारेका छन् । सो प्रतिवेदन बुधबार नै अर्थमन्त्रीलाई बुझाइने भएको छ । प्रतिवेदनले सेयर लगानीकर्ताले उठाउँदै आएका धेरै मागलाई सम्वोधन गर्ने प्रयास गरेको छ ।

प्रतिवेदनले सेयर धितोमा जाने कर्जा बढाउन सुझाव दिने भएको छ । हाल सेयर धितो कर्जामा बजार मूल्य वा पछिल्लो ६ महिनाको औसत मूल्यको ५० प्रतिशत रकम मात्रै ऋण दिन पाउने व्यवस्था छ । यसलाई बढाएर ६५ वा ७० प्रतिशत कायम गर्न प्रतिवेदनले सुझाएको छ ।

त्यस्तै सेयरको वेटेड रिस्क (पुँजीगत जोखिम भार)लाई घटाइने भएको छ । हाल सेयर कर्जालाई १५० प्रतिशतको जोखिम भार मानिँदै आएकोमा यसलाई १ सयमा झार्न प्रतिवेदनले सुझाएको छ ।

सेयरको बजार मूल्य अहिले कम भएको र जोखिम पनि घटेको ठहर गर्दै समितिले जोखिम भार घटाउन भनेको हो। बजार मूल्य अनुरुप सेयरको जोखिमभारलाई परिवर्तन गर्दै लैजान सकिने प्रतिवेदनमा औंल्याइएको छ ।

त्यस्तै नागरिक लगानी कोषलाई मार्केट डिलरको रुपमा विकास गर्नका लागि प्रतिवेदनले सुझाएको छ । स्रोतका अनुसार कोषलाई सहायक कम्पनीमार्फत मार्केट डिलरको काम गर्ने जिम्मा दिइने भएको छ । सहायक कम्पनीले कति रकमबाट मार्केट डिलरको काम गर्ने भन्ने सम्वन्धमा कोषलाई नै जिम्मा दिइने भएको छ ।

धितोपत्र बोर्डले ३ वर्षदेखि नै मार्केट डिलरका रुपमा कोषलाई जिम्मा दिनेगरी कार्यविधि बनाए पनि नेप्सेको प्रणालीले सपोर्ट नगर्दा रोकिएको थियो ।

प्रतिवेदनमा समेटिएका कुरा लागू भएमा पुँजी बजार माथि जाने लगानीकर्ताको भनाई छ । ‘प्रतिवेदनलाई लागू गर्न सक्ने हो भने पुँजी बजारको विकास हुनेमा दुई मत छैन’ इन्भेष्टर्स फोरमका अध्यक्ष तथा समिति सदस्य अम्बिकाप्रसाद पौडेलले भने।

मुद्रा तथा पुँजी बजारका समस्या पहिचान गर्न र समाधानका सुझावसहित प्रतिवेदन पेश गर्न भन्दै झण्डे २ साताअघि डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको थियो ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्