Logo
६ बैशाख २०८१, बिहीबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन विपरीत काम बढे सँगै जलचर लोप हुँदै, तर माग दिन प्रतिदिन बढ्दै

उदयपुर : खोलामा करेन्ट र विषादी प्रयोग गरी माछा मार्ने धन्दा बढे सँगै उदयपुरको स्थानीय खोलानालामा माछा लगायत जलचर लोप हुँदै जान थालेका छन् । स्थानीय खोलामा करेन्ट र विषादी प्रयोग गरी माछा मार्ने र बजार क्षेत्रमा पर्ने खोलाहरुमा प्रदूषण बढ्दै गएपछि जलचर लोप हुँदै गएको हो ।

उदयपुरमा मात्र नभएर आजभोलि अधिकांश खोला तथा नदीमा करेन्ट र विषादी प्रयोग गर्ने क्रम बढेपछि माछा तथा जलचर लोप हुँदै गएको चौदण्डीगढी नगरपालिकाकाको त्रियुगा नदी किनारमा बसोबास गर्दै आएका एक स्थानीयले बताए ।

‘नदी तथा खोलामा विषादी, करेन्टका साथै बिस्फोटक पदार्थको सहयोगबाट माछा मार्न थालेपछि माछा लोप हुँदै गएको अर्का स्थानीयले बताए । ३० वर्षअघि एक घण्टामा झण्डै चार किलो माछा जालमै मारिन्थ्यो, अहिले दिनभरि जाल हान्दा पनि दुई किलो मार्न नसकिने माछा व्यापार गर्नेहरुको भनाई छ ।

बजारमा पोखरीमा पालेका माछाभन्दा खोलानालामा मारेका माछाको माग बढ्दै गए पनि माछा पाउन छाडेको सो ठाउँका स्थानीय माझीले बताए । ‘त्रियुगा नदीमा मारेका माछा प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ,’ अर्का माझीले भने, ‘तर माछा नै पाइँदैन।’

नदी तथा खोलामा करेन्टले माछा मर्ने क्रम बढेपछि माछा लोप हुँदै गएको सोही नगरपालिकाका ५५ वर्षीय रचनलाल बोटले बताए। उमेर ‘विषादी हालेर र करेन्ट लगाएर माछा मार्नु कानुन विपरीत हो,’ उनले भने, ‘तर, करेन्ट लगाउनेलाई कसैले पनि रोकछेक गरेको देखिँदैन । अहिले माछा पाउनै छाड्यो।’ फुर्सदको समयमा सरकारी कर्मचारी, व्यापारी तथा विभिन्न संघ संस्थाका कर्मचारीहरु पनि थकान मेटाउन भन्दै ब्याट्री, जेनरेटर लिएर खोला तथा नदीमा गई करेन्ट लगाएर माछा मार्ने नदी किनारका बासिन्दाहरु बताउँछन्।

चौदण्डीगढी नगरपालिका-५ का वडा अध्यक्ष देवनारायण चौधरीले त्रियुगा नदीको माछा संरक्षण गर्ने बेला आएको बताए । ‘करेन्ट लागाउने र विषादीको प्रयोग गरेर माछा मार्ने काम रोक्नु पर्छ,’ उनले भने, ‘दिन प्रतिदिन बढ्दै गएको नदी प्रदूषण पनि रोक्ने बेला आएको छ।’

 

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्