Logo
८ बैशाख २०८१, शनिबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव–वैद्य मिल्दै, आन्तरिक छलफल तीव्र, घोषणा केहि दिनमै हुने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसँग एकताको लागि छलफल गरिरहेको बताएका छन् ।

नेपालमा सच्चा कम्युनिष्ट पार्टी आवश्यक भएकोले त्यसको निर्माण अभियानमा आफू लागेको उनले बताए ।

त्यसका लागि विप्लव, गोपाल किराँती, मोहनविक्रम लगायत नेतृत्वका कम्युनिष्ट पार्टीसँग छलफल भइरहेको बताए । छलफलको निष्कर्षमा छिट्टै पुगिने पनि उनले बताए ।

‘कुराकानी भइरहेको छ, टुट्न केही सजिलो भए पनि एकता गर्न केही कठिनाइ हुँदो रहेछ,’ उनले भने, ‘तर एकपटक सच्चा कम्युनिस्टहरु एक हुन्छौँ भनेर लागेका छौँ ।’ वैद्यका अनुसार घोषणा केहि दिनमै हुनेछ ।

पूर्वएमाले र माओवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको उनको आरोप थियो । बैद्यले यो एकता सत्ताका लागि मात्रै भएकाले लामो समय नटिक्ने पनि ठोकुवा गरे ।

‘यो एकता सत्ताका लागि मात्रै होे, कम्युनिस्ट एकता होइन,’ उनले भने ‘ लामो समय टिक्दैन ।’ सैद्धान्तिक रुपमा एकता नभइ चुनाव जित्नलाई मात्रै गरिएको उनको भनाइ छ ।

सरकारले नौ महिनासम्म पनि कुनै पनि उदाहरणीय काम गर्न नसकेको भन्दै बैद्यले भारतले नेपालको सीमा मिच्दा पनि सरकारले केही पहल नथालेको गुनासो गरे ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्