Logo
४ बैशाख २०८१, मंगलबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभरेष्ट प्रिमियर लिग : काठमाडौंले विराटनगरलाई हराउँदा आशा मारिसकेको चितवन टाइगर्स प्लेअफमा

काठमाडौं : एभरेष्ट प्रिमियर लिगमा राउण्ड रोबिन चरणको अन्तिम खेलमा नाटकीय नतिजा निस्किँदा आशा मारिसकेको चितवन टाइगर्सको भाग्य चम्किएको छ । काठमाडौं किंग्स ११ ले विराटनगर वारियर्सलाई १३ बल बाँकी छँदै ५ विकेटले हराइदिएपछि भाग्यशाली चितवन टाइगर्स प्लेअफ पुगेको छ । आज ठूलो अन्तरले पराजित भएसँगै प्लेअफ पुग्ने सम्भावना बलियो भएको विराटनगर प्रतियोगिताबाटै बाहिरिएको छ । राष्ट्रिय कप्तान पारस खड्काको विराटनगर साविक विजेता हो ।

आजको खेल सुरु हुनुभन्दा पहिले अंक तालिकामा ललितपुर प्याट्रिओट्स ८ अंकसहित शीर्ष स्थानमा थियो । दोस्रोमा ६ अंकसहित भैरहवा ग्लाडिएटर्स, तेस्रोमा ६ अंकसहित काठमाडौं किंग्स ११ र चौथोमा  ४ अंकसहित विराटनगर वारियर्स थिए । ४ अंकको चितवन टाइगर्स पाँचौमा र एउटा पनिन खेल नजितेको पोखरा राइनोज अन्तिममा थिए । लिगको नियमअनुसार शीर्ष ४ टिम प्लेअफ पुग्छन् । यस्तोमा आज सानो अन्तरको हारजित भएको अवस्थामा जुन टिमले जिते पनि प्लेअफ पुग्ने टिम फेरबदल हुने अवस्था थिएन ।

आजको खेलमा विराटनगरले ठूलो अन्तरले हारेमा भने विराटनगर नेट रनरेटमा पछि पर्ने र चितवन टाइगर्स प्लेअफ पुग्ने सम्भावना थियो । आजको खेलमा त्यही भयो, विराटनगर ठूलो अन्तरले हार्दै नेट रनरेटमा पछि पर्यो र भाग्यशाली चितवन नेट रनरेटमा माथि पर्दै प्लेअफ पुग्यो । अब प्लेअफको पहिलो क्वालिफायरमा शीर्ष स्थानको ललितपुर प्याट्रिओट्स र दोस्रो स्थानको काठमाडौं किंग्स ११ भिड्नेछन् भने इलिमिनेटरमा तेस्रो स्थानको भैरहवा ग्लाडिएटर्स र चौथो स्थानको चितवन टाइगर्स भिड्नेछन् ।

पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ र इलिमिनेटरको विजेता दोस्रो क्वालिफायर खेल्न जानेछ । इलिमिनेटरमा हार्ने टिम बाहिरिनेछ । दोस्रो क्वालिफायर खेल पहिलो क्वालिफायरमा हार्ने टिम र इलिमिनेटरमा जित्ने टिमबीच हुनेछ । दोस्रो क्वालिफायर जित्ने टिम पहिलो क्वालिफायर जित्ने टिमसँग उपाधिका लागि फाइनल भिड्नेछ । दोस्रो क्वालिफायर हार्ने टिम बाहिरिनेछ । पहिलो क्वालिफायर भोलि मंगलबार १ बजे, इलिमिनेटर बुधबार १ बजे, दोस्रो क्वालिफायर बिहीबार दिउँसो १ बजे र फाइनल खेल शनिबार दिउँसो १ बजे हुनेछ ।

आजको राउण्ड रोबिन चरणको अन्तिम खेलमा विराटनगरले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । ब्याटिङमा चल्न नसकेको विराटनगरले १७.५ ओभरमा १०० रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि सुमित महर्जनले २५, हरिबहादुर चौहानले २२, कप्तान पारस खड्काले २१ र बाबर हयातले ११ रन बनाए । काठमाडौंका लागि केभिन ओबरोयनले ३, रोहन मुस्तफा, प्रदिप साहू र बिक्रम भुसालले समान २–२ तथा जितेन्द्र मुखियाले १ विकेट लिए ।

१०१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको काठमाडौंले ७.५ ओभरमै १०६ रन बनायो । काठमाडौंका लागि केभिन ओबरोयनले नटआउट ४५, प्रदिप साहूले २१, अमित श्रेष्ठले १४ र सागर पुनले १० रन बनाए । विराटनगरका लागि कप्तान पारस खड्का र भान डेर मेर्वेले समान २–२ विकेट लिए । रोबिन क्षेत्रीले १ विकेट लिए । बलिङतर्फ सर्वाधिक विकेट र ब्याटिङतर्फ पनि सर्वाधिक रन बनाएका केभिन ओबरोयन म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्