Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वार्षिक १० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य पुरा,२०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं : वार्षिक १० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य पुरा भएको छ । सन् २०११ मा पर्यटन वर्ष मनाने क्रममा लिएको उक्त लक्ष्य सन् २०१८ मा आएर पुरा भएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार चालू सन् २०१८ को ११ महिना (जनवरीदेखि नोभेम्बर) सम्म १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो हालसम्मकै उच्च तथ्यांक हो ।

यसअघि सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपालको भ्रमण गरेका थिए । जुन सन् २०१६ को तुलनामा २८ दशमलव ८८ प्रतिशतले बढी थियो । सन् २०११ नेपाल पर्यटन वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भए पनि ७ लाख ३६ हजार २ सय १५ जना पर्यटन नेपाल आएका थिए । त्यस्तै सन् १९९८ मा आयोजित ‘भिजिट नेपाल’ ५ लाख पर्यटनले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६ सय ७४ जनाले नेपाल भ्रमण गरेका थिए ।

११ महिनामा १० लाख पर्यटकको आगमन हुनु पर्यटन क्षेत्रका लागि उत्साहप्रद रहेको र सरकारले ७ वर्ष अगाडि लिएको लक्ष्य यति बेला आएर पँरा भएको पर्यटनविद् प्रचन्डमान श्रेष्ठ बताउनुभयो । भारत र चीनका नागरिकको भ्रमणमा देखिएको रुचीका कारण नेपालको पर्यटन आगमन बढेर गएको हो यसको लागि अझै छिमेकी मुलुकमा नेपालको प्रचारप्रसार तीव्र पार्दै लैजानुपर्नेमा श्रेष्ठको जोड छ ।
भुकम्प र नाकाबन्दीपछि नेपाली पर्यटन उद्योग आशालाग्दो रुपमा विकास हुँदै गएको छ, यसको लागि नेपालले निरन्तर पूर्वाधार निर्माणमा ध्यान दिँदै जानुपर्ने श्रेष्ठले बताए ।

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । केही वर्ष यता पर्यटक आगमन बढेर गएको भए पनि दुई वर्षमै २० लाख पर्यटक नेपाल भित्राउन सम्भव नरहेको श्रेष्ठको भनाइ छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् २०१८ को ११ महिनामै १० लाख पर्यटक भित्राउनु सकारात्मक रहेको र सन् २०२० मा २० लाख पर्यटक भित्राउने आधार बन्दै गएकाले लक्ष्य पुरा हुने दाबी गरे ।

अक्टोबर र नोबेम्बर महिनामा मात्रै भारतबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ११ हजार ५ सय ६६ र १६ हजार १ सय ६७ रहेको छ । यस्तै जनवरीदेखि नोभेम्बरसम्म २ लाख ६० हजार १ सय २४ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्