Logo
१२ बैशाख २०८१, बुधबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडिया व्यवसायीको क्षमता अभिवृद्धिका लागि नेपाल र म्यान्मारका प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ : मिडिया व्यवसायीको क्षमतामा अभिवृद्धि र अन्य सहयोग आदानप्रदान गर्ने सम्बन्धी प्रेस काउन्सिल नेपाल र म्यान्मार प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसले आज समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा दुई काउन्सिल बीच पत्रकारितासम्बन्धी सूचना, अनुभव र आदानप्रदान गर्ने, स्तरीय मिडिया शिक्षा र तालिमको माध्यमबाट मिडिया व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, नैतिक पत्रकारितालाई प्रवद्र्धन गर्नेलगायतका विषय समावेश गरिएको छ ।

“समाचार सङ्कलनसम्बन्धी गोष्ठी, कार्यशाला, आयोजना गर्ने तथा पत्रकारका अनुभव आदानप्रदान गरिनेछ”, समझदारी पत्रमा भनिएको छ । नेपाल भ्रमणमा आएको म्यान्मार र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको ९ सदस्यीय टोलीलाई प्रेस काउन्सिल नेपालले बुधबार स्वागत गरेको थियो ।

लुम्बिनी, पोखरा, चितवन, पाल्पा र काठमाडौँ लगायतको भ्रमण गर्ने उद्देश्यसहित श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागे सहित चार र म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष केइङसहित ५ जनाको टोली काठमाडौँ आएको थियो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्रेष्ठले काउन्सिलले पत्रकार आचारसंहिता जारी गरेर कार्यान्वयन गर्ने, पत्रपत्रिका वर्गीकरण गर्नेलगायतका काउन्सिलको गतिविधिबारे जानकारी दिए ।

श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष कोग्गाला बेल्लालागे र म्यान्माका अध्यक्ष ९१ वर्षीय ओहन केइङले भ्रमणले नेपालसँगको सम्बन्ध अझ मैत्रीपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्