Logo
१२ बैशाख २०८१, बुधबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभाहल बनाउने विषय अन्योलमा, बाहिरि देशको तुलनामा बनाउनु पर्छ : सभामुख महरा

काठमाडौं : सङ्घीय संसदमा कतिवटा सभाहल राख्ने भन्ने विषयमा निर्णय नहुँदा नयाँ संसद भवन बनाउने काम सुस्त भएको छ । यसअघि २ वटा सभाहल, संसद सचिवालय, क्यान्टिनसहितको संसद भवन बनाउने गरी तयार भएको डिजाइन पुनरावलोकन गर्न थालिएको छ ।

संसद भवन निर्माणका लागि नक्साङ्कन गर्ने जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभागले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त सभाका लागि अर्को हल थप्नेगरी डिजाइनको काम गरिरहेको छ । पहिले २ वटा सभाहल बनाउने गरी डिजाइन तयार गरिएको थियो ।

तर प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संयुक्त हल पनि चाहिने भनेपछि डिजाइन पुनरावलोकन गर्न लागिएको सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक द्वारिका श्रेष्ठले जनाकारी दिए ।

भारतलगायका कतिपय देशका संसद भवनमा दुवै सदनको संयुक्त बैठकका लागि छुट्टै सभाहल पनि रहेको भन्दै सभामुख महराले अर्को हल पनि बनाउन भनेको उनले बताए । संयुक्त सभाका लागि छुट्टै हल बनाउने वा नबनाउने विषयमा आइतबारसम्म निर्णय हुने उनले बताए ।

सिंहदरबार हाताभित्र रहेको पुतली बगैंचामा नयाँ संसद भवनबारे २०५७ सालमै निर्णय भएको थियो । यस वर्षदेखि बहुवर्षीय योजनाका रूपमा संसद भवन बनाउन सुरु गर्ने भने पनि अझै नक्साङ्कनले अन्तिम रूप लिन सकेको छैन ।

सङ्घीय संसद सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेका अनुसार ५७ सालमै संसद भवन नयाँ संसद भवन बनाउनका लागि नक्सा डिजाइनको काम भइसकेको थियो । फेरि सहरी विकास मन्त्रालयले नयाँ नक्सा बनाउन थालेको थियो ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्