Logo
१५ चैत्र २०८०, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीको नाममा काँग्रेस र नेकपाका सांसदबीच चर्काचर्की

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको गाडी खरिद प्रकरणको विषयलाई लिएर संसदीय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच विवाद भएको छ । सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले माग गरेपछि दुई दलका सांसदबीच विवाद भएको हो ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने माग गरे भने त्यसको प्रतिवाद गर्दै सत्तारुढ नेकपाका सांसद सूर्य पाठकले संसदीय समितिलाई कामै गर्न नदिने नियतका साथ सो प्रस्ताव आएको दावी गर्दै आपत्ति जनाए ।

सार्वजनिक लेखासमितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सभापति भरतकुमार शाह आफनो धारणा राख्दै । तस्वीर : रत्न श्रेष्ठ

बैठकमा वाईडबढि विमान खरिद सम्बन्धमा छलफल सकिएपछि सुरु भएको विविध शीर्षक अन्तरगतको छलफलमा भाग लिँदै काँग्रेस नेता रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा संसदीय समितिले जानकारी लिन पाउनुपर्ने बताएपछि दुई दलका नेताहरुबीच भनाभन सुरु भएको थियो ।

त्यसै क्रममा सत्तारुढ नेकपाका सांसद पाठकले काँग्रेस नेता रिजालको सो प्रस्ताव संसदीय समितिलाई असफल बनाउने नियतका साथ आएको भन्दै आपत्ति जनाए । काँग्रेस नेता रिजालको सो प्रस्ताव सार्वजनिक लेखा समितिको क्षेत्राधिकार भित्र समेत नपर्ने सत्तारुढ नेकपाका सांसद पाठकको तर्क थियो । उनँले सार्वजनिक लेखा समितिले सरकारको सबै क्षेत्रको अध्ययन गर्न नसक्ने दावी पनि गरे ।

बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रेसका अर्का सांसद राजन केसीले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न तत्कालीन सरकारले जम्मा गरेको बजेटबारे जानकारी गराउन पनि सरकारसँग माग गरे । दुवै दलका सांसदबीच राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा भनाभन भइरहँदा बैठकमा समितिको वार्षिक कार्ययोजना बनाएर अघि बढने विषय ओझेलमा पारिएको भन्दै सत्तारुढ दलका सांसदहरुले सभापति भरतकुमार शाहप्रति असन्तुष्टि जनाएका थिए ।

राष्ट्रपति विद्या भण्डारीलाई १८ करोडको गाडी खरिद गर्ने सरकारको तयारी भन्ने विषय बाहिर आएपछि सोही विषयलाई लिएर सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुबीच विवाद भएको हो ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्