Logo
६ बैशाख २०८१, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहपञ्चमीको रौनक : योगीको सम्मानमा १ हजार १ मुर्तेको भण्डारा, ५६ व्यञ्जनले स्वागत

जनकपुरमा आज धुमधामसंग सीताराम विवाहपञ्चमी महोत्सव मनाइदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव गत मंसिर २१ गतेबाट शुरु भएको थियो ।

मंसिर २१ गते नगरदर्शन, मंसिर २२ गते फुलवारी लिला, मंसिर २३ गते धनुष यज्ञ, मंसिर २४ गते तिल्कोत्सव र विवाहको पूर्व संध्यामा मंसिर २५ गते अर्थात मंगलबार राम र जानकीको मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ । आज छैटौ दिन रामाजानकीको विवाह पश्चात शुक्रबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले बताए  ।

योगीको सम्मानमा प्रदेश सरकारद्धारा १ हजार एक मुर्तेको भण्डारा 

आज भइरहेको रामजानकी विवाहपञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको रुपमा सहभागि हुने कार्यक्रम रहेको छ । विहान साढे १० बजे विमानबाट सिधा जनकपुर विमान स्थलमा अवतरण गर्नहुने मुख्यमन्त्री योगी सिधा जानकी मन्दिर पुगेर विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको प्रदेश २ सरकारका कृषि व्यवस्था तथा भूमिसुधार मन्त्री शैलेन्द्र साहले जानकारी दिए  ।

त्यस पश्चात प्रदेश २ सरकारले उहाँको स्वागतमा प्रदेश सरकारको सचिवालय मधेश भवनमा आयोजन गरेको १ हजार १ साधुशन्तको विशेष भण्डारा (भोज) मा सहभागि हुने कार्यक्र रहेको छ । तत्पश्चात एतिहासिक रंगभूमि मैदान बाह्रविघामा हुने राम र सीताको स्वयम्बर कार्यक्रममा दुवै देशका समकक्षी मुख्यमन्त्रीद्धय सहभागि हुनेछन् ।

बाह्रविघा मैदानमा दवुै मुख्यमन्त्रीले ४।५ मिनेट प्रवचन दिने समेत कार्यक्रम रहेको मन्त्री साहले जानकारी दिनुभयो ।
प्रवचन पश्चत मुख्यमन्त्री योगी आजै फर्किने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ ।

५६ व्यञ्जनले स्वागत 

सीताराम विवाहपञ्चमी महोत्सवमा जन्तीका रुपमा जनकपुर आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई प्रदेश २ सरकारले ५६ व्यञ्जनले स्वागत गर्ने कार्यक्रम रहेको छ । जनकपुर विमानस्थलमा अवतरण गरेपछि मुख्यमन्त्री योगीले जानकी मन्दिर पुगेर पूजाअर्चना गर्ने कार्यक्रम छ ।

जानकी मन्दिरमा पूजा गरिसकेपछि उनको सम्मानमा प्रदेश सरकारले आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम छ । दिवा भोजमा संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, साधुसन्त तथा राजनीतिज्ञहरु सहभागी हुने बताइएको छ । प्रदेश सरकार योगीका सम्मानमा ५६ प्रकारका व्यन्जनको व्यवस्था गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले जानकारी दिए ।

साधुसन्तले ग्रहण गर्ने भोजन योगीकालागि व्यवस्था गर्न लागेको उनको भनाइ छ । यस्तै मधेश भवनमा मिथिला परम्परा अनुसार मैथिली गीत संगीतबाट योगीको स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ । सांगीतिक कार्यक्रममा मैथिली गीत संगीतका चर्चित कालकार सुनिल मल्लिक, शारदा सिन्हा र मैथिली ठाकुर आउने कार्यक्रम रहेको मन्त्री यादवले जनाए ।

जनकपुरमा खचाखच दर्शनार्थी

यस वर्षको सीताराम विवाहपञ्चमी महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी आउने चर्चाले एकहप्ता अघिदेखि नै श्रद्धालुहरु जनकपुर आउने क्रम जारी छ । अयोध्याबाट रथ,घोडा र उँटमा साधुसन्तहरु जन्ती आएकाले विशेष आकर्षण रहेको छ ।

त्यसैले नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं दर्शनार्थी आएकाले जनकपुरको सहर, बजार गल्ली जताततै खचाखच भरिएको छ ।मिथिलाको विधिविधान अनुसार हुने रामजानकी विवाह महोत्सवको अवलोकन गर्न प्रत्येक वर्ष लाखौको संख्यामा तीर्थालुहरु जनकपुर आउने गरेका छन् ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्