Logo
७ बैशाख २०८१, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा योगी चढेर आउने विमानको ‘टेस्ट फ्लाइट’, भारत सरकारले उपलब्ध गरायो कारगेट

जनकपुरधाम : भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेर जनकपुर आउने विमानको परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ । रामजानकी विवाहोत्सवमा सरिक हुन् जनकपुर आउनभन्दा एक दिनअघि मंगलबार भारतीय विमानको परीक्षण गरिएको हो ।

बिहान उत्तर प्रदेशको राजधानी लखनउबाट उडान भरेको भारतीय विमान जनकपुर विमानस्थलमा १० बजेर १९ मिनेटमा अवतरण गरेको थियो । ९ जना यात्रु बोक्ने क्षमता रहेको बीई २०० नामक भारतीय कम्पनीको विमान जनकपुर विमानस्थलमा अवतरण भएको केहि बेरपछि पुनः लखनउ फर्किएको थियो ।

बुधबार पनि १०:१५ मा योगी चढेर आउने यो विमान जनकपुर विमानस्थलमा अवतरण गर्ने बताइएको छ । जनकपुर अवतरण गरेको करिब ६ घण्टाको जनकपुर बसाइपछि साँझ ५स्४५ मा लखनउको लागि विमान उडने बताइएको छ ।

‘भारतका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ बुधबार जनकपुर आउने कार्यक्रम छ,’ जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले नेपाल समयलाई भने,‘उहाँ आउन एक दिनअघि विमानको परीक्षण गरिएको छ। विमानको सफल परीक्षण भएको छ ।’

तीनजना चालक दलसहित जनकपुर आएको विमानका चालक दलले रन-वेको लम्बाई, ले-आउटजस्ता सुविधाहरु बारे परीक्षण गरेको ढकालले बताए । जनकपुर विमानस्थलको व्यवस्थाबाट विमानका चालक दलका सदस्यहरु सन्तुष्ट भएर फर्किएको उनको भनाइ थियो ।

ढकालका अनुसार लखनउबाट जनकपुर पुग्न विमानलाई करिब एक घण्टाको समय लागेको थियो । बुधबार विमानबाट चारजना चालक दलक सदस्य र मुख्यमन्त्री योगीसहितको पाँचजना प्रतिनिधिमण्डल जनकपुर पुग्ने बताइएको छ ।

नेपाल उड्डयन प्राधिकरणबाट दुई दिनको अनुमति लिएर भारतीय विमानले उडान भरेको विमानस्थल प्रमुख ढकालले जानकारी दिए । योगीको विमान जनकपुर अवतरण गर्ने भएकोले जनकपुर-काठमाण्डौंको नियमित उडानको समय तालिका हेरफेर हुनसक्ने उनले बताए।

भारतबाटै कारगेट
उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउने भएपछि विमानस्थल देखि उनी भ्रमण गर्ने जनकपुरको हरेक स्थानको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

विमानस्थल प्रमुख ढकालका अनुसार विमानस्थलको सुरक्षा व्यवस्था जिल्ला सुरक्षा समितिले बनाए अनुसार नै रहने छ । मुख्यमन्त्री योगीका लागि कारगेट भारत सरकारले उपलब्ध गराएको बताइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रवीण कणेलका अनुसार योगीका लागि एउटा बुलेट प्रुफ कार भारत सरकार र अर्को नेपाल सरकरले उपलब्ध गराएको छ । विवाहोत्सवमा सहभागी हुन आउने भएपछि उनका सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीसमेत जनकपुर पुगेका छन् ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्