Logo
७ बैशाख २०८१, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा २०१८ को हालसम्म ३२२ जना नेपालीको मृत्यु, महिला भन्दा पुरुषको संख्या बढि

मलेसिया : धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१७ मा ३६४ रहेको थियो ।

कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ को मृत्यु भएको छ । सुतिरहेको अवस्था, मदिरा सेवा, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या १९८ रहेको छ । मृत्यु हुनेमा एक जना महिला र बाँकी सबै पुरुष छन् ।

सन् २०१७ मा मृत्यु भएकामध्ये ६५ जनाले आत्महत्या गरेका थिए । कडा रोगका कारण ६३ को मृत्यु भएको थियो भने सडक दुर्घटनामा २७ र औद्योगिक दुर्घटनामा परी १४ को मृत्यु भएको थियो । अन्य कारणले मृत्यु हुनेको सङ्ख्या १९५ रहेको थियो । खरेलका अनुसार क्षयरोग, कलेजोको खराबी, डेङ्गु, मष्तिष्काघात, एपेण्डिसाइटिस, मेनेन्जाइटिसजस्ता रोगका कारण नेपाली कामदारको मृत्यु हुने गरेको छ ।

रेलको ठक्करबाट, बसबाट खसेर, करेन्ट लागी जलेर, हत्या, सुतिरहेको अवस्थामा, छातीको खराबी, अग्लो घरबाट लडेर पनि कामदारको मृत्यु हुने गरेको खरेलले बताए । मलेसियामा पछिल्लो तथ्याङ्कअनुसार ३ लाख ८३ हजार नेपाली कामदार रहेका छन् । प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको सङ्ख्या १ लाख हाराहारी रहेको अनुमान गरिएको खरेल बताए ।

पछिल्लो समयमा श्रमसम्झौता कार्यान्वयन हुन नसक्दा नेपाली कामदार मलेसिया आउन पाएका छैनन् । जसका कारण मलेसियामा रहने कामदारको सङ्ख्या घटेको हो । यसअघि ७ लाख हाराहारी नेपाली मलेसियामा रहेको तथ्याङ्क थियो । कार्यवाहक राजदूत खरेल नेपाली कामदारमा आवश्यक सीप, क्षमतासँगै यहाँको वस्तुस्थितिका बारेमा ज्ञान नहुँदा विभिन्न कारणले मृत्यु हुने गरेको बताए ।

मलेसियामा रहेका र आउन चाहने कामदारले यहाँको वस्तुस्थिति, कानून, भाषालगायतका विषयमा राम्रो ज्ञान लिनुपर्ने राजदुत खरेलले बताए ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्