Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार माथि खनिए सञ्चार मन्त्री बास्कोटा, प्रहरीले समातेका अपराधीलाई मिडियाले नक्कली सावित गराईदियो

काठमाडौं : सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटा कुनै पनि कार्यक्रममा पुगे भने पत्रकारलाई आलोचना गर्न थालिहाल्छन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्याराको खोजी प्रकरणमा प्रहरीले समातेका व्यक्तिलाई मिडियाले ‘नक्कली अपराधी समातियो’ भनेको गुनासो गर्दै मन्त्री बास्कोटाले आक्रोश पोखे । उनले निर्मला पन्तको नाम त लिएनन्, तर संकेतचाहिँ सोही प्रकरणतर्फ गरेको बुझ्न गाह्रो थिएन ।

‘यहाँ त कस्तो अप्ठ्यारो भयो भने मान्छे समात्यो, यो पनि नक्कली हो भन्छन् । छानविनै गर्नै हुँदैन,’ मन्त्री बास्कोटाले भने, ‘सक्कलीचाहिँ को हो त उसोभए ? देखाइदिनुपर्‍यो नि त थाहा हुनेले ! नक्कली अपराधी समातेको भनेर लेख्नेले सक्कली अपराधी देखाइदिनुपर्ने मन्त्री बास्कोटाले बताए ।

मन्त्री बास्कोटाले थपे,‘त्यसोभए सक्कली अपराधी कहाँ छन् ? त्यो लेखिदिनुपर्‍यो नि । कि सक्कली को हो भनेर उसैलाई समाउन त मिलेन होला । उसलाई लाग्यो लेखिदियो ।’ प्रेस काउन्सिल नेपालले काठमाडौंको गैरीधारामा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले भने-‘जब सरकारले छानविन गर्दैछ, अनुसन्धान गर्दैछ, पत्ता लगाउने संकल्प छ भने मान्छे समात्दा फेरि अर्को नक्कली समात्यो भन्छ ।

हामी कुन मनोविज्ञान सिर्जना गर्दैछौं त भन्दा सरकारले जे गर्छ, त्यो सबै नक्कली हो, अरुले जे गर्छन्, त्यो मात्रै सक्कली हो ।’ मिडियामा आउने समाचारप्रति थप खनिँदै मन्त्री बास्कोटाले भने, ‘भ्रष्टाचारीलाई समात्यो भने भ्रष्टाचार बढ्यो भन्नुहुन्छ, भ्रष्टाचारीलाई नसमातेर भित्रभित्रै भ्रष्टाचार भइरह्यो भने चाहिँ के त भ्रष्टाचार सामसुम भो ?’

प्रहरीले गर्ने काम पत्रकारले गर्न थालेको आरोप लगाउँदै उनले अगाडि भने. ‘पत्रकारहरु यहाँ त छापा हान्न पनि आफैं गइदिन्छन् । छापा हान्ने काम पत्रकारको होइन, लेख्ने काम हो । छापा हान्ने त पुलिसको काम होला नि त । सूचना दिनू, भएन भने फेरि लेख्नू, फेरि लेख्नू ।’ सरकारको कमजोरी छ भने देखाइदिए हुन्छ भन्दै मन्त्री बास्कोटाले अगाडि थपे( ‘सरकार इतिहासकै पहिलोपल्ट स्थिर बनेको छ, सके राम्रो गर्ने हो, नसके पनि नराम्रो नगर्ने हो ।’

केपी ओलीले घोषणा गरेको तुइन विस्थापन सम्बन्धी विषयको समाचारमा पनि मन्त्री बास्बोटाको गुनासो रहेछ, मिडियासँग । उनले भने, ‘तुईन कतिवटा विस्थापित भए ? ६ वटा जति राख्नै सकिएन । किन विस्थापन गरेन ६ वटा भनेर समाचार आउँछ । पोलिटिकल नेतृत्वलाई टेक्निकल कुरा थाहा हुँदैन । तर, बनाउने भनेको ६ वटा किन बनेन भनेर आँखा टट्टाउने गरी मिसनका रुपमा त्यही देखाइयो । यसमा मात्रै हाम्रो गुनासो हो ।’

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्