Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घोडा-रथसहित आएका जन्तीलाई भव्य स्वागत, मुख्यमन्त्री योगी आउँदै, सुरक्षाका लागि ४ हजार प्रहरी

जनकपुर : प्रदेश नम्बर २ स्थित रामजानकी विवाहपञ्चमी र उक्त अवसरमा भारतबाट जन्तीको रुपमा आइरहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको भ्रमणलाई लिएर प्रदेशमा सुरक्षा बढाइएको छ । सुरक्षाका लागि जनकपुरमा झन्डै चार हजार सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षा सतर्कता पनि बढाइएको हो ।

महोत्सवका लागि ३ हजारको संख्यामा प्रहरी परिचालन गरिएको छ । यसमध्ये प्रदेश नम्बर २ का प्रत्येक जिल्लाबाट एक हजार नेपाल प्रहरी बोलाइएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार प्रदेशका जिल्लाबाट १ सय प्रहरीलाई जनकपुर बोलाइएको छ ।

प्रत्येक जिल्लका प्रहरी नायव उपरीक्षाको नेतृत्वमा प्रहरीलाई बोलाइएको हो । बाकी दुई हजार प्रहरी भने प्रदेश १ र तीनबाट बोलाइएको छ । यस्तै, आन्तरिक तथा बाह्य पर्यटक चढेर आएको सवारी साधनको लाम लाग्ने भएकाले नगरभरि ट्राफिक व्यवस्थापनमा विशेष जोड दिइएको छ ।

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लखनउबाट सीधै जनकपुरधाम विमानस्थलमा ओर्लने कार्यक्रम रहेको छ। त्यसपछि उनी सिधै प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गर्नेछन् र त्यहाँबाट प्रदेश सरकारको निमन्त्रणामा मधेश भवनमा आयोजना हुने दिवाभोजमा सरिक हुनेछन् ।

उनी सोही दिन रंगभूमि मैदानमा आयोजना हुने रामजानकी स्वयम्वरमा सरिक हुँदै काठमाडौँ जाने कार्यक्रम तय भएको छ ।

अयोध्याबाट आएका जन्तीलाई भव्य स्वागत

यसैबीच बुधबार हुने रामजानकी विवाह महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । भारतको अयोध्यालगायत विभिन्न स्थानबाट विवाह महोत्सवमा सहभागी हुन जन्तीका रूपमा आएका साधुसन्त धनुषाको जटही नाका हुँदै जनकपुरधाम आइपुगेका हुन् ।

भारतबाट आएका जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । जन्ती तथा अतिथिलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गरेका थिए । जटही नाकाबाट नगराइन नगरपालिकाको नगराइनस्थित विद्यालयमा भारतीय जन्ती तथा अतिथिलाई केहीबेर विश्राम गराइएको थियो ।

भारतीय अतिथि नगराइन नगरपालिका पुगेपछि त्यहाँका स्थानीयसमेत स्वागत सत्कारमा जुटेका थिए । यसअघि भारतको अयोध्याबाट महोत्तरी नाकाबाट जन्ती आउने गरे पनि यस वर्ष भने धनुषा नाकाबाट आएका हुन् ।

ड्रोनको प्रयोगबाट सुरक्षा निगरानी, छिमेकी प्रदेशको सहयोग 

मुख्यमन्त्री योगीको सुरक्षाका लागि जनकपुरमा चार हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सीता–राम विवाह पञ्चमी महोत्सवमा जन्तीका रूपमा बुधबार जनकपुर आउन लागेका योगीको सुरक्षाका लागि नेपाल प्रहरीका तीन हजार, सशस्त्र प्रहरी एक हजार र राष्ट्रिय अनुसन्धान विभागका एक सय सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।
बुधबार बिहान उत्तर प्रदेशको राजधानी लखनउबाट योगी सिधै प्रदेश २ को राजधानी जनकपुर आइपुग्ने योजना छ ।

सोहीअनुरूप जनकपुर विमानस्थल, जानकी मन्दिर, मधेस भवन र रंगभूमि मैदान (बाह्रबिघा) मा सुरक्षाको दृष्टिकोणले उच्च सतर्कता अपनाइएको प्रदेश प्रहरी प्रमुख पालले बताए। जनकपुर विमानस्थलमा अवतरणपछि योगी सिधै जानकी मन्दिर पुगी पूजापाठ गर्नेछन्। त्यहाँबाट मधेस भवन (प्रदेश सरकारको सचिवालय) पुगेर बृहत् भण्डारामा सहभागी हुनेछन्। प्रदेश सरकारले योगीको स्वागतमा उनीसँगै सम्पूर्ण साधुसन्तका लागि बृहत् भण्डारा (सात्विक भोज) को तयारी गरेको छ ।

मधेस भवनमा केही क्षण बिताइसकेपछि रंगभूमि मैदानमा आयोजना हुने सीता–राम स्वयंवर समारोहमा उपस्थित हुने कार्यक्रम रहेको विवाह महोत्सव मूल समारोह समितिका अध्यक्ष रामरोशन दासले बताए । स्वयंवरपछि रंगभूमि मैदानमै योगीलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको दासले बताए। प्रदेश सरकारका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र भारत उत्तर प्रदेशका समकक्षी योगीसहितका विशिष्ट अतिथिहरूको उपस्थितिबीच राम–सीताको स्वयंवर समारोह सम्पन्न हुने दासले बताए । योगी रंगभूमि मैदानबाट अपराह्न करिब ४ बजे सिधै जनकपुर विमानस्थलमा पुगेर स्वदेश फिर्ता हुने प्रदेश प्रहरी प्रमुख पालले जानकारी दिए।

ड्रोनको प्रयोगबाट सुरक्षा निगरानी

जनकपुरमा योगीको उपस्थिति हुने प्रमुख क्षेत्रहरुको सुरक्षा निगरानीका लागि ड्रोन क्यामेरा परिचालन गर्न लागिएको प्रदेश प्रहरीका प्रमुख पालले बताए। जानकी मन्दिर, मधेस भवन र रंगभूमि मैदानमा ‘रेपिड कम्युनिकेसन सिस्टम (आरसिएस)’ राखिने र उक्त सिस्टम तथा ड्रोन क्यामेराले निर्देशन गर्ने सुरक्षा व्यवस्थाको मोनिटरिङ प्रदेश प्रहरी कार्यालयबाट हुने व्यवस्था मिलाइँदै छ ।

‘आरसिएस र ड्रोन क्यामेराको सम्पर्क कमान्ड पोस्टसँग जोडिनेछ। कमान्ड पोस्टले सुरक्षा व्यवस्थालाई चुस्त राख्न सम्बन्धित सबै स्थानमा खटिने सुरक्षा इन्चार्जलाई सन्देश दिइरहेको हुन्छ। यसले अत्याधुनिक सुरक्षा प्रविधिको उपयोग गर्दै भिआइपीलाई सुरक्षा चुनौतीबाट मुक्त राख्न सहज हुने हाम्रो अनुमान छ,’ डिआइजी पालले नागरिकसँग भने ।

ड्रोन क्यामेराले तीनवटै स्थानबाट लाइभ टेलिकास्ट गर्ने र त्यसको अनुगमन प्रदेश प्रहरी कार्यालयबाटै गरिने भएपछि सुरक्षाकर्मीहरूको छुट्टाछुट्टै टोलीलाई एकै समयमा प्रभावकारी सूचनासँग जोडेर सशक्त रूपमा प्रस्तुत हुन निर्दे्शित गरिने उनले बताए ।विवाह पञ्चमी महोत्सवमा चार दिनअगाडिदेखि नै जनकपुरमा बढिरहेको लाखौं श्रद्धालुको भिडमा भिआइपीको भ्रमण सुरक्षाको दृष्टिकोणले स्वाभाविक चुनौती रहेको उल्लेख गर्दै पालले त्यसबारे अध्ययन गरी सोहीअनुरूप सुरक्षाकर्मी तैनाथ गरिएको जनाए।

योगी पुग्ने जानकी मन्दिर, मधेस भवन र रंगभूमि मैदानमा सर्वसाधारण तथा श्रद्धालुको आवागमनमा अवरुद्ध गर्न नमिल्ने भएकाले तीनवटै स्थानमा विद्युतीय सुरक्षा गेट राख्न लागिएको पालले बताए । शनिबारदेखि नै जनकपुर क्षेत्रमा सुरक्षा चेकजाँचमा कडाइ गरिएको बताउँदै उनले सीमाक्षेत्रमा नेपाल तथा भारतका सुरक्षाकर्मीबीच समन्वय गरी सुरक्षा सतर्कता बढाइएको छ ।

जनकपुर नगर क्षेत्रमा सुरक्षा तालिमप्राप्त कुकुर परिचालन गरिएको र सादा पोसाकका प्रहरी परिचालन गरी शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको उनले बताए। नेपाली सेनालाई ‘ब्याकप’मा राखिने भए पनि मासमा परिचालन गर्ने तत्काल कुनै तयारी नरहेको डिआइजी पालको भनाइ छ ।

छिमेकी प्रदेशको सहयोग 

योगीको सुरक्षाका लागि छिमेकी प्रदेश १ र प्रदेश ३ बाट प्रदेश २ को राजधानीमा सुरक्षाकर्मी पठाउने तयारी गरिएको छ। प्रदेश १ स्थित दुधौली तथा प्रदेश ३ स्थित भरतपुर प्रहरी तालिम केन्द्रबाट गरी एक हजार थप सुरक्षाकर्मी जनकपुर आउन लागेको डिआइजी पालले बताए ।

जनकपुरको समग्र सुरक्षा व्यवस्था मिलाउन धनुषा प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले स्वतन्त्र रूपमा अनुगमन गर्नेछन् भने जानकी मन्दिर, मधेस भवन तथा रंगभूमि मैदानमा छुट्टाछुट्टै प्रहरी उपरीक्षक (एसपी) को कमान्डमा सुरक्षा टोली परिचालन गरिनेछ। तीनवटै स्थानमा एक एसपी र चार डिएसपीसहितको सुरक्षा अधिकारी नेतृत्वको टोली परिचालन गरिने पालले बताए ।

नगर क्षेत्रको ट्राफिक व्यवस्था मिलाउन प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपीको कमान्डमा जिम्मेवारी तोकिएको छ। यसका लागि नगरबाहिर जिल्लाका अन्य स्थानमा खटाइएका तथा केही अन्य जिल्लाबाट समेत ट्राफिक प्रहरीलाई बोलाइएको जनाइएको छ । नेपालका विभिन्न जिल्लासँगै भारतको बिहार र उत्तर प्रदेशलगायत स्थानबाट श्रद्धालु लिएर आउने सवारीसाधनलाई नगरबाहिरै पार्किङको अस्थायी व्यवस्था मिलाएर ट्राफिक व्यवस्था मिलाउन लागिएको धनुषा ट्राफिक प्रहरीका इन्चार्ज इन्सपेक्टर दीपक साहले जनाए ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्