Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय मुख्यमन्त्रीको सुरक्षाकालागि ‘विशेष योजना’ तयार, सुरक्षा संयन्त्र सबै परिचालन गरिदै

काठमाडौं :  प्रदेश नम्बर २ सरकारले उत्तर प्रदेश भारतका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाकालागि विशेष योजना तयार गरेको छ । विवाह पञ्चमी महोत्सव नजिकिँदै गर्दा त्यहाँको सरकारले विशेष सुरक्षा योजना तयार गरेको हो ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर आउने कार्यक्रम तय भएपछि सुरक्षा निकायले विशेष सुरक्षा बन्दोबस्तको तयारी गरेको सरकारका एक मन्त्रीले नागरिक टाइम्सलाई बताए । प्रदेश २ को सुरक्षा संयन्त्रका अनुसार आगामी बुधबार हुने राम–जानकी विवाह महोत्सवमा भिड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको छ ।

सेनालाई स्ट्यान्डबाई राखिने भएको छ भने सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ ।
त्यसैगरि राम–जानकी विवाह महोत्सवमा नेपाल प्रहरीले ड्रोनबाट भिडको निगरानी गर्ने भएको छ । मुख्य प्रवेशद्वारमा रहने ‘वाक थ्रो गेट’बाट पनि भिडको निगरानी गरिनेछ ।

जानकी मन्दिर र रंगभूमि मैदानमा प्रवेश गर्ने सबैलाई मेटल डिटेक्टर गेटबाट मात्र पठाउने निर्णय पनि समितिले गरेको छ । यी दुवै स्थानमा दर्शनार्थीको ठूलो भिड लाग्छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार आदित्यनाथ जानकी मन्दिर र रंगभूमि मैदान पुग्दा भिड व्यवस्थापन प्रमुख चुनौती हुने आकलन गरिएको छ ।

एयरपोर्ट, जानकी मन्दिर, रंगभूमि मैदान र प्रदेश सरकारको सचिवालय रहेको मधेस भवनका लागि फरक–फरक सुरक्षा बन्दोबस्त मिलाइएको उनले जानकारी दिए । प्रदेश २ का प्रमुख डिआइजी हरिबहादुर पालले सुरक्षाको सबै योजना तयार पारिएको बताउँदै नेपाल र सशस्त्र प्रहरीका ३ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए । ’त्यसका लागि बाहिरबाट पनि थप सुरक्षाकर्मी झिकाइएको छ,’ उनले भने ।

जनकपुरमा मंगलबार र बुधबार रक्सी, माछा–मासुको बिक्रीवितरण तथा सेवनमा निषेध गरिएको प्रजिअ कँडेलले बताए । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुरक्षा समितिले मंसिर २५ गते रातिदेखि २६ गतेसम्म जनकपुरमा सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्