Logo
१३ बैशाख २०८१, बिहीबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताउनु भएको छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले जेनरल जन केली केही दिनमा आफ्नो जिम्मेबारीबाट बाहिरिने जानकारी दिनुभयो । उहाँले शनिबार ट्वीट गर्दै केली पदमुक्त हुन लागेको सार्वजनिक गर्नु भएको थियो ।

राष्ट्रपति ट्रम्पले केलीलाई एकदमै राम्रो मान्छेको संज्ञा दिँदै सहयोग र सहकार्यका लागि धन्यवाद भन्नु भएको छ ।

“उहाँ झण्डै दुई बर्षदेखि मेरो साथमा फरक फरक भूमिकामा हुनुहुन्थ्यो, मलाई उहाँको काम गराई निकै मन परेको छ,” ट्रम्पले भन्नुभयो ।

केलीको उत्तराधिकारी केही दिनमा घोषणा गर्ने पनि उहाँले बताउनुभयो । गत महिना रोयटर्स समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार चिफ अफ स्टाफको भूमिकामा उपराष्ट्रपति माइक पेन्सका चिफ अफ स्टाफ निक ऐयर्स आउने सम्भावना रहेको छ ।

केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको विवरण सार्वजनिक भएको थियो ।

ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उहाँको ठाउँमा नियुक्त गर्नुभएको थियो ।

सूचना चुहिएको भनिएका बेला सेनाभित्रको प्रशासनमा अनुशासन ल्याउने बाचा गरेकाले उहाँलाई जिम्मेबारी दिइएको थियो ।

उहाँले आफ्नो उक्त उद्देश्यमा सफल भएको दाबी गरेपनि सूचना चुहिने क्रम भने पूर्णरुपमा रोकिएको थिएन ।

अमेरिकाको राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भएपछि अहिलेसम्म राष्ट्रपति कार्यालयबाट २८ जना पदमुक्त भएका छन् । तीमध्ये अधिकांशलाई ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले आफै छाडेका थिए ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्