Logo
१३ बैशाख २०८१, बिहीबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकमा खाल्टा-खुल्टी भएका समाचार नलेख्न पत्रकारहरुलाई संचारमन्त्रीको आग्रह

काठमाडौं : संचारमन्त्री गोकुल बास्कोटाले पत्रकारलाई सडकमा भएका खाल्टा खुल्टीका समाचार नलेख्न अग्राह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघको चौथो महासभालाई सम्बोधन गर्दै उनले खल्टाखुल्टी कसरी पुर्न सकिन्छ भन्ने तवरले समाचार लेख्न पत्रकारलाई सचेत पारे । उनले भने,‘पत्रकारहरुले सडकमा खाल्टा भएको समाचार लेख्ने हैन, खाल्डा पुर्ने उपाय र निकायलाई सचेत गराउनुपर्छ ।’

सभाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक पत्रकारहरुको एउटै र बलियो संगठन बनाउन सुझाव दिए । पत्रकारिताको माध्यमबाट सरकारको आलोचना गर्न खुला आव्हान गर्दै खतिवडाले आम पत्रकारहरुको गल्ति औल्याउने निकाय नभएकाले आफैले गल्ति नगर्न सुझाव दिए ।

सरकारका कमजोरी देखाइदिने तथा सचेत गराउने काम राम्रो भएको तर, सधै प्रतिपक्षी दलजस्तो राम्रोलाई पनि नराम्रो लेख्ने परिपाटी ठीक नभएको उनले बताए । ‘तपाईहरु भनेको पत्रकार हो, प्रतिपक्षी दल होइन । प्रतिपक्षी दलको भूमिका र पत्रकारको भूमिका फरक हुन्छ’ अर्थमन्त्री खतिवडाले भने, ‘म ढिलोढिलो राजनीति बुझ्दैछु । योभन्छु कि पत्रकारहरुले राम्रो र नराम्रो दुबै भन्नु पर्छ ।’

नराम्रो मात्रै देख्ने र व्यक्ति विशेषलाई ध्यान दिएर मिडिया चलाउनुको कुनै अर्थ नहरेको उनले बताए । प्रेस स्वतन्त्रता र आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अर्थमन्त्रालय र आफू सँधै तयार रहेको समेत बताए ।

सरकारले गरेको गल्ती देखाउने पत्रकार नै भएको तर, पत्रकारले गरेको गल्ती कसैले नदेखाउने भन्दै उनले पत्रकारले गल्ती नै गर्न नहुने धारणा राखे । उनले भने, ‘गल्ती सबैबाट हुन्छ तर, हाम्रो गल्ती तपाईहरु लेख्नुहुन्छ, तपाईहरुको कसले लेख्ने ? यसकारण तपाईहरुले गल्ती नै गर्नु हुँदैन ।’

उनले सबै पत्रकारहको हकहितको सुरक्षणका लागि सधै अग्रसर हुन संघलाई आग्रह समेत गरे । विज्ञापन दातालाई गाली गर्न नसक्ने र निरीहलाई मात्रै गाली गर्ने चलन रहेको भन्दै त्यस्तो बेतिथि तोड्न समेत उनले अनुरोध गरे ।

राष्ट्रको चौंथो अङ्गका रूपमा रहेका पत्रकारहरुको हकहितका लागि सरकार सदैब तयार रहेकाले आफ्नो संगठन मार्फत हकहितका जोडदार माग उठाउन समेत उनले आव्हान गरे ।

आर्थिक पत्रकार संघमा नयाँ नेतृत्व चयन

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार राजधानीमा सम्पन्न चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

अध्यक्षमा भट्टराईसहित उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् । यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् ।

कार्यसमितिकाे कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । महासभाले १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल सर्वसम्मतले निर्वाचित भएका छन् ।

नव निर्वाचित पदाधिकारीहरुलाई सुचना तथा सञ्चार मन्त्री बास्कोटाले खादा तथा प्रमाणपत्र वितरण गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरु आयोजना गर्ने, मुलुकको आर्थिक समृद्धिका लागि आर्थिक बहसका कार्यक्रमहरु चलाउने र तथ्यमा आधारित समाचार लेख्न आर्थिक पत्रकारहरुलाई प्रोत्साहन गर्ने लगायतका योजना नाफिजको छ ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्