Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम चौमासिकको विकास खर्च शून्य, कर्मचारी पुगेनन्

बैतडी : सुदूरपश्चिम प्रदेशका ३ जिल्लाका विभिन्न सरकारी कार्यालयको प्रथम चौमासिकको विकास खर्च शून्यजस्तै भएको छ । बैतडी, दार्चुला र बझाङ जिल्लामा प्रादेशिक रणनीतिक सडक, ठूल्ठूला झोलुङ्गे पुल र सडक पुल निर्माणका लागि बैतडीमा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना भए पनि पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको कार्यालयले जनाएको छ ।

कात्तिक महीनामा कार्यालय स्थापना भएको र ढिलो गरी अख्तियारी आएकाले पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर जगतप्रसाद जोशीले बताए । भौतिक पूर्वाधार विकास कार्यालयले ३ वटै जिल्लामा ९९ वटा सडक निर्माण गर्ने अख्तियारी पाएको भए पनि अहिलेसम्म एउटा काम पनि शुरु भएको छैन । कर्मचारीको अभावमा काम शुरु गर्न नसकिएको इञ्जिनीयर जोशीले बताए ।

कार्यालयमा कर्मचारी नहुँदा कार्यालयले गर्ने काम अघि बढाउन नसकिएको पनि जोशी खुलासा गरे । ७ सबइञ्जिनीयर र ४ जना इञ्जिनीयरको दरबन्दी भएको कार्यालयमा १ जना सबइञ्जिनीयर र १ जना इञ्जिनीयरबाहेक अन्यको पदपूर्ति हुन नसकेको समेत बताए । बैतडी र दार्चुला हेर्ने गरेर बैतडीमा स्थापना भएको कृषि ज्ञानकेन्द्रले पनि सामान्य कामबाहेक अन्य काम सञ्चालन गर्न नसकेको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।

प्रदेश सरकार मातहत स्थापना भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पनि पहिलो चौमासिकमा विकास खर्च गर्न सकेको छैन । अख्तियारीनै नआएकोले विकास खर्च गर्न नसकेको कार्यालयका पशुसेवा प्राविधिक विशनसिंह विष्टले बताए । विकास निर्माणका कामसँग प्रत्यक्ष जोडिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पनि पहिलो चौमासिक विकास बजेटतर्फ १ रुपैयाँ पनि खर्च गर्न सकेको छैन । अख्तियारी नै ढिला आएकाले विकास निर्माणका काम अघि बढाउन नसकिएको कार्यालयका ओभरसियर गोविन्द भट्ट बताए ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्