Logo
७ बैशाख २०८१, शुक्रबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा पर्यटकको चाप बढ्दै, तर बास नबसी फर्कन्छन्

रुपन्देही : यस वर्ष कात्तिकको मध्यसम्म करीब १६ लाख स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरिसके छन । भ्रमणका लागि उपयुक्त याम भएकाले यस वर्ष थप एक लाख पर्यटक लुम्बिनी घुम्न आउने अपेक्षा लुम्बिनी विकास कोषले राखेको छ ।

तथ्याङ्कअनुसार यहाँ आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, चीन, बर्मा, म्यानमारलगायतका देशहरुबाट पर्यटकहरु लुम्बिनी आउँछन् ।

लुम्बिनी पुग्ने पर्यटकहरुको सङ्ख्या धेरै देखिए पनि यहाँका पर्यटन व्यवसायीहरु भने खासै उत्साहित छैनन् । आगन्तुकमध्ये १० प्रतिशतले मात्रै लुम्बिनीमा रात बिताउँछन् । सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजनामा लुम्बिनी आउने पर्यटकहरुले सरदर एक रात मात्रै बास बस्ने गरेको उल्लेख छ ।

यो विदेशी पर्यटकको बसाइ अवधिका आधारमा निकालिएको तथ्याङ्क हो । यद्यपि, अहिले स्वदेशी तथा विदेशी पर्यटकहरुको आवागमन बढेको छ । यसबाट यहाँका व्यवसायीहरुमा केही आशा नपलाएको होइन तर, रात काट्ने पर्यटकहरुको सङ्ख्या भने बढ्न सकेको छैन ।

लुम्बिनी पुग्ने जो कोहीले यहाँ पर्यटकहरु ओइरिएको देख्दा लुम्बिनी पर्यटकले भरिभराउ छ, लुम्बिनीका होटल भरिभराउ होलान् र पर्यटन व्यवसायीहरुले पनि प्रशस्त फाइदा लिन पाएका होलान् भन्ठान्छन् । तर, लुम्बिनी आएर फर्किने पर्यटकको सङ्ख्या धेरै हुँदा पनि पर्यटन व्यवसायीले त्यसबाट यथेष्ट फाइदा भने उठाउन सकेका छैनन् ।

यहाँ आउनेमध्ये सरदर १५ प्रतिशत पर्यटकले मात्रै रात बिताइदिने हो भने लुम्बिनी मात्रै होइन भैरहवासम्मका होटलहरु भरिभराउ हुन्छन् तर, आएका पर्यटक नअडिँदा विभिन्न व्यवसाय गर्ने व्यक्तिहरु निराश मान्छन् ।

खासगरी ठूलो सङ्ख्यामा लुम्बिनी आउने पर्यटकमध्ये श्रीलङ्काली र भारतीय पर्यटक मायादेवी मन्दिर मात्रै घुमेर फर्किन्छन् । भारतीय गाइड यहाँ अरु मन्दिर हेर्न समेत दिँदैनन् । खानेकुरा पनि उतैबाट प्याकिङ गरेर ल्याउँछन् । खाएर फोहर फाल्छन् र जान्छन् ।” एक स्थानिय बासिले बताए ।

यतिमात्रै होइन लुम्बिनी आउने अधिकाँश विदेशी पर्यटकहरुसमेत आफ्नै देशले बनाएको विहारमा बास बस्छन् । विहारका नाममा अधिकाँश देशहरुले यहाँ होटल सञ्चालन गरिरहेका छन् । श्रीलङ्का, चीन, दक्षिण कोरिया, थाइल्यान्डलगायत विभिन्न देशहरुबाट आउने पर्यटकहरु आफ्नै मन्दिरका पाहुना घरमा रात बिताउँछन् र फर्कन्छन् ।

केही मुलुकका पर्यटकहरु भारतीय ट्राभल एजेन्सीमार्फत यहाँ आउँछन् । उनीहरु पनि मायादेवी मन्दिरको दर्शन गरेर बास बस्न फेरि भारत पुग्छन् । अधिकाँश स्वदेशी पर्यटकहरु पनि बुद्धको जन्मस्थल लुम्बिनी घुमेर मात्रै फर्कन्छन् तर, बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट, बुद्धको मावली देवदह, बुद्धको अस्थिधातु राखिएको स्थान रामग्राम जस्ता महत्वपूर्ण स्थानहरुमा भने पुग्दैनन् ।

लुम्बिनी पनि गुरुयोजनाले परिकल्पना गरेको विधिअनुसार नघुमिदिँदा पर्यटकको लुम्बिनी भ्रमण अवधि छोटो हुने गरेको छ ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्