Logo
८ बैशाख २०८१, शनिबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरसँगै राजपा नेपालमा यी हुन् पद खोसिएका नेताहरु

काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गत मङ्सिर ४ गते बसेको बैठकले महन्थ ठाकुरलाई हटाएर अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई नयाँ संयोजक बनाउने निर्णय गर्यो । सोही बैठकले निर्वाचन आयोगमा बुझाइएको केन्द्रीय समितिको नामावलीबाहेक पछि गरिएको मनोनयनलाई मान्यता नदिने निर्णयसमेत गर्यो ।

सो निर्णयपछि राजपा नेपालभित्रका दर्जनौँ नेताको पद धरापमा परेको छ । राजापाले मङ्सिर ४ गते महन्थ ठाकुरलाई हटाएर महतोलाई नयाँ संयोजक बनाइएको बारे जानकारी दिन निकालेको विज्ञप्तिको तेस्रो बुँदामा भनिएको छ, ‘पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै यसपछि पार्टी सङ्गठनमा भएको सबै प्रकारका नियुक्ति/मनोनयलाई रद्द गर्ने निर्णय गरिएको छ ।’

राजपा स्रोतका अनुसार निर्वाचन आयोगमा नामावली बुझाएपछि पार्टीले महासचिव, सहसचिव, सचिव तथा केन्द्रीय सदस्यलगायत विभिन्न पदमा नियुक्ति गरेका थिए । मनोनयनमा परेका उनीहरू अहिले भने पदबिहिन भएका छन् । तर नियुक्त गरिएका व्यक्तिहरूमध्ये अधिकांशको तथ्याङ्क तथा माइन्युट पार्टी कार्यालयमा छैनन् । त्यसले गर्दा उनीहरूको नियुक्ति कसरी भएको थियो भन्ने आधिकारिकता पाउनै कठिन रहेको राजपाका नेताहरू नै बताउँछन् ।

को हुन् मनोनित नेता ?
आयोगमा नामावली बुझाइएपछि राजपाले महासचिवमा पुरुषोत्तम झा र शशीकपुर मियाँलाई मनोनयन गरेको थियो । यद्यपि अध्यक्षमण्डलले मङ्सिर ४ गते सो निर्णय गर्ने वित्तिकै उनीहरू पार्टी छाडेर सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरिसकेका छन् । फोरम नेपालले झा र मियाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरिसकेको छ ।

यस्तै ठाकुरको एकल निर्णयबाट राजपा नेपालले विनोद सिंह, जयप्रकाश ठाकुर, पुरुषोत्तम झा, सुरेन्द्र झा, शशीकपुर मियाँलाई पनि महासचिवमा मनोनित गरेको छ भने अरविन्द साह, प्रमेश्वर साह, कुमरनाथ मिश्र, रामकिशोर यादवलाई सहमहामन्त्रीमा मनोनय गरेको छ । त्यसबाहेक सचिव र केन्द्रीय सदस्यमा पनि थुप्र्रैलाई मनोनित गरिएको थियो तर उनीहरूको कुनै तथ्याङ्क पार्टी कार्यालयमा छैन ।

राजपाको मङ्सिर ४ मा भएको निर्णयबारे महासचिव विनोद सिंह भन्छन्, ‘पार्टीको आवश्यकता थियो मनोनयन गर्यो, आवश्यकता नभए हामीलाई हटाउँछ । यो कुनै ठूलो कुरा होइन ।’ यद्यपि उनले महासचिवबाट हटाएको बारे अहिलेसम्म आफूलाई कुनै पत्र नआएको बताए ।

ठाकुर राजपा नेपाल अध्यक्षमण्डलको संयोजक रहेको बेला यी सबै मनोनयन तथा नियुक्तिहरू भएका हुन् । नेता ठाकुरले यी सबै मनोनयन आफूखुशी गरेको पार्टीमा आरोप छ र सोही आरोपको आधारमा उनलाई संयोजक पदबाट हटाएर राजेन्द्र महतोलाई राखिएको बताइन्छ ।

सङ्गठनमा मात्र होइन, बाहिर राजनीतिक नियुक्ति तथा अन्य नियुक्तिमा मनोमानी भएको ठाकुरइतरका पक्षको आरोप छ । अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले पार्टीमा कुनै निर्णय नै नगरी विभिन्न नियुक्ति तथा मनोनय भएको आरोप लगाएका छन् ।

नियुक्त गर्ने सिफारिश पनि धरापमा 

पछिल्लो समय प्रदेश २ को नीति आयोगमा पार्टीले तीन जनालाई नियुक्त गर्ने सिफारिश गरेको थियो । त्यसमा डा. सुरेन्द्र झा, राजकुमार लेखी र रामप्रवेश बैठाको नाम सिफारिस गरियो । तर पार्टीमा उनीहरूको सिफारिसबारे पनि कुनै निर्णय नभएको गुनासो रहेको छ ।

ठाकुरका सम्धी उमाकान्त झामाथि पनि प्रश्न उठेको छ । प्रदेश ५ को प्रमुखमा नियुक्तिका लागि उनलाई सिफारिश गर्दा पार्टीमा कुनै पनि सल्लाह नभएको आरोप महेन्द्रराय यादवहरूको छ । ठाकुरले आफ्नै मनले नियुक्त गरेको कुरा उनीहरूले सार्वजनिक रूपमै भन्दै आएका छन् ।

त्यस्तै, प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनललाई नियुक्त गरियो । सोनललाई संसदीय दलका नेतामा मात्र चयन गरिएन, उनलाई मन्त्रीका लागि समेत सिफारिश गरिएको थियो । त्यसमा पनि ठाकुरले कसैसँग सल्लाह गरेको पार्टीमा गुनासो छ । ठाकुरले गत फागुन ३ गते जनकपुरमा भएको बेला उनलाई दुवै पदमा सिफारिस गरेका थिए ।

प्रदेश २ का संसदीय दलका नेता एवम् मन्त्री सोनलप्रति पनि प्रश्न उठेको छ । उनलाई संसदीय दलको नेता राख्ने कि नराख्ने विषयमा पनि पार्टीभित्र विचार विमर्श हुन थालेको छ ।

त्यतिबेला पार्टीमा सबारेमा कुरा पनि उठेको थियो । पार्टीका प्रवक्ता केशव झा भन्छन्, ‘त्यतिबेला पार्टीको संसदीय दलको नेता हुने व्यक्ति मन्त्री हुन नपाउने निर्णय भएको थियो । त्यो कुरालाई पछि पार्टीमा उहाँहरूले कसरी मिलाउनुभयो, थाहा भएन ।’

त्यस्तै, परमेश्वर साहलाई पनि प्रदेश २ को प्रदेशसभा सचेतकमा चयन गरियो । तर पार्टीमा उनको बारेमा पनि कुनै अभिलेख छैन अर्थात् ठाकुरले उनको बारेमा पनि पार्टीमा कुनै छलफल नगरेको नेताहरू बताउँछन् । उनको पद पनि धरापमा परेको पार्टी स्रोतले जनाएको छ ।

प्रदेश २ का लागि तीन जना राज्यमन्त्रीको नाम सिफारिश गर्दा त्यसमा पनि विवाद भएको थियो । सुरेश मण्डल, अभिराम शर्मा र डा. डिम्पल झा राज्यमन्त्रीका लागि सिफारिश भएका थिए । त्यसमा ठाकुरले आफू निकटका दुई जना पठाएको राजपाका नेताहरूको दाबी छ ।उनीहरूका अनुसार मण्डल र शर्मा ठाकुर पक्षधरका हुन् ।

त्यसैगरी, प्रदेश २ का मन्त्री, राज्यमन्त्री, सांसद, सभामुख, सचेतक लगायतले आफ्ना सचिवालयमा गरेका नियुक्तिको बारेमा पनि पार्टीलाई कुनै जानकारी गराएका छैनन् । सबैजनाले आआफ्नो तरिकाले नियुक्त गरेका छन् । यसको बारेमा पनि अब पार्टीका छलफल हुने बताइएको छ ।

उता, प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले आफ्नो निजी सचिवालयमा १२ जनालाई नियुक्त गरेका छन् । अब विगतमा भएका सबै निर्णय/नियुक्तिका विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्ने तयारीमा नयाँ संयोजक रहेको बुझिएको छ ।

पार्टीका सहमहामन्त्री राकेश मिश्रले भने, ‘जो जे अवस्थामा नियुक्त वा मनोनित भए पनि कसैलाई हटाउनु हुँदैन । यदि अहिले नियुक्त भएकालाई हटायो भने पार्टीमा द्वन्द्व बढ्न सक्छ । त्यसले आउने दिनमा कुनै नियुक्ति गर्दा त्यस्ता त्रुटिहरूमा ध्यान दिएर गर्नुपर्छ ।’ पार्टीमा यसबारे विवाद बढाउनुभन्दा समाधानतिर जाँदा राम्रो राम्रो हुने उनको सुझाव छ ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्