Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज भएको छैटौं चरणको पहिलो खेलमा एपिएफले एनआरटीलाई हरायो

काठमाडौँ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै एपिएफले सात अङ्क जोड्दै अङ्क तालिकाको सातौँ स्थानमा उक्लेको छ ।

यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपिएफले लिगमा एकमात्र जित दर्ता गरेकोथियो भने एकमा बराबरी र तीनवटा खेलमा पराजित भएको थियो । एपिएफको जितमा युवराज लामा र सुदीप शिखरकारले एक-एक गोल गरे ।

युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे । खेल शुरुवातीको पाँचौं मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए । उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक/एक गोलको बराबरीलाई कायम गर्न सकेन ।

खेलको ७३ औँ मिनेटमा सुदिपले एक गोल थप्दै एपिएफको लागि विजयी गोल गरे । यता जारी लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ ।

 

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्