Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशकदेखिको मेसी र रोनाल्डो दबदबा अन्त्य : मोडरिचलाई बालन डी अर उपाधि

रियाल मड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोडरिचले बालन डी अरमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको एक दशकदेखिको दबदबा अन्त्य गर्दै गएराति उपाधि कब्जा गरेका छन् ।

रुसमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनल सम्म पुर्‍याउन मुख्य भूमिका खेल्नुअघि ३३ वर्षे मोडरिचले रियालको टोलीबाट कीर्तिमानी लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।२००७ मा ब्राजिल तथा एसी मिलानका तत्कालिन फरवार्ड काकाले जितेयता बालन डी अरमा मेसी र रोनाल्डोवाहेक अरु खेलाडीले जित्न सकेका थिएनन् । यसबीचमा मेसी र रोनाल्डोले समान पाँच/पाँच पटक बालन डी अरको उपाधि जितेका थिए ।

गएराति दशकपछि पहिलो पटक मेसी र रोनाल्डोलाई निराश पार्दै मोडरिचले उपाधिमा कब्जा जमाउँदा उनका पूर्व रियाल टिम सहयात्री रोनाल्डो उपविजेता भए । रोनाल्डो यसै सिजनको सुरुआतमा रियाल छोडेर इटालियन च्याम्पियन युभेन्टससँग अनुबन्ध भएका थिए । यसैगरी बार्सिलोनाका फरवार्ड मेसी भने पाँचौं भए । फ्रान्सले रुस विश्वकपमा उपाधि जित्दाका मुख्य नायकहरु एट्लेटिको मड्रिडका एन्टानी ग्रिजम्यान तेस्रो भए भने पेरिस सेन्ट जर्मन (पिएसजी) का किलियन एमबाप्पे चौथो भए ।

गत सिजन उत्कृष्ट लयमा रहेका मोडरिचले सेप्टेम्बरमा सम्पन्न फिफा फुटबल अवार्डमा सर्बोत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए । त्यसअघि विश्वकपमा उनले सर्बोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल पाएक थिए । वर्षमा तेस्रो ठूलो उपाधि जितेपछि मोडरिचले अवार्ड पछिल्लो १० वर्ष मेसी र रोनाल्डोको दबदबा हुँदा उपाधिबाट विमुख भएका अन्य खेलाडीमा समर्पण गरे ।

“सायद पछिल्ला वर्षहरुमा पनि केही खेलाडी यो पुरस्करको हकदार थिए होलान । सायद जाभी, आन्द्रियास इनियस्टा वा वेस्ले स्नाइडरजस्ता खेलाडीले बालन डी अर जित्न सक्थे । अन्तत मेसी र रोनाल्डोभन्दा वाहेककोले सफलता हासिल गरेको छ,” बीबीसीसँग उनले भनेका छन्, “अवार्डको हकदार भएर पनि नजित्ने सबै खेलाडीमा म यो अवार्ड समर्पण गर्न चाहन्छु । मेरा लागि यो साच्चै विशेष वर्ष रहयो । यो मेरा लागि अत्यन्तै विशेष छ । यो अवसरमा आफ्ना भावना बाढनका लागि मसँग सायद सव्द पर्याप्त हुँदैन ।”

मोडरिचले रोनाल्डो र मेसी साच्चै असाधारण खेलाडी भएको बताउँदै थपे, “यसपाली जित्नु भनेको मैले मैदानमा यो वर्ष पक्कै पनि केही विशेष प्रदर्शन गरेको हुनुपर्छ । त्यसैले २०१७–१८ मेरो वर्ष रहयो ।”

बालन डी अरका लागि मनोनयनमा रहेका ३० खेलाडीमध्ये रियालबाटमात्र मोडरिचसहित आठ खेलाडी थिए । जसमा वेल्सका अन्तर्राष्ट्रिय स्ट्राइकर गारेथ बेल १७औं भए ।

बालन डी अरमा पहिलो पटक महिला विधा थप गरिँदा लियोन तथा नर्वेकी २३ वर्षे स्ट्राइकर एडा हेगेरबर्गले अवार्ड जितिन । यसैगरी १९ वर्षे एम्बाप्पे पहिलो पटक समावेश यु–२१ विधातर्फको कोपा ट्रफिको हकदार बने ।
बालन डी अरका शीर्ष १० :

१. लुका मोडरिच (रियाल मड्रिड/क्रोएसिया)

२. क्रिस्टियानो रोनाल्डो (युभेन्टस/पोर्चुगल)

३. एन्टोनी ग्रिजम्यान (एट्लेटिको मड्रिड/फ्रान्स)

४. किलियन एमबाप्पे (पिएसजी/फ्रान्स)

५. लियोनेल मेसी (बार्सिलोना/अर्जेन्टिना)

६. मोहम्मद सालाह (लिभरपुल/इजिप्ट)

७. राफेल भाराने (रियाल मड्रिड/फ्रान्स)

८. इडेन हाजार्ड (चेल्सी/बेल्जियम)

९. केभिन डी ब्रुयना (म्यानचेस्टर सिटी/बेल्जियम)

१०. ह्यारी केन (टोटेनह्याम/इङल्यान्ड)

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्