Logo
११ बैशाख २०८१, मंगलबार
(November 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले अवलोकन गर्न सकिने ठाउँ, साथै सूर्योदय र सूर्यास्त पनि

पोखरा : गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ ।

हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न ठूलो धनराशि खर्च गरी विदेशी पर्यटक पुग्ने गरेको यो ठाउँले पछिल्लो समयमा स्वदेशी पर्यटकलाई पनि उत्तिकै आकर्षित गरेको छ ।

समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलको पदयात्राका क्रममा भेटिएका जर्मन नागरिक हर्वट बेडेनबेन्डरले यहाँबाट देखिने दृश्य अवर्णनीय भएको टिप्पणी गरे ।

“लामो पदयात्रा मार्गमा हिँड्दा थकाइ लाग्नु स्वभाविकै हो,” उनले भने, “यहाँका यी रमणीय दृश्यले थकाइ बिर्साएको छ ।” अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतको यस स्थान पर्यटकीय नगरी पोखरादेखि नजीक हुनुका साथै एकै स्थानबाट बहुदृश्य हेर्नका लागि पर्यटक पुग्ने गरेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवम् कार्यक्रम प्रमुख प्रदीप गैरेले बताए ।

उनका अनुसार विदेशी पर्यटक मात्र नभई देशका विभिन्न स्थानहरूबाट भ्रमणका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समयमा उत्साहजनक रूपमा बढेको पाइन्छ । पदयात्राको मुख्य याममा दैनिक पाँच सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेको स्थानीयवासी वीरेन्द्र गर्बुजाले बताए ।

देशको राजनीति तथा शान्तिसुरक्षाको अवस्था राम्रो बन्दै गएकोले विदेशी पर्ययक आगमन उत्साहजनक भएको बताउँदै गर्बुजाले दशैँ–तिहारको बिदाको समयमा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिएको समेत उल्लेख गरे ।

पुनहिलको प्रवेशद्वार घोडेपानीमा २५ वटा होटल छन् । यी होटलमा दैनिक एक हजार पाहुना बास बस्न सक्ने व्यवस्था छ । गाउँपालिकाले यस आर्थिक वर्षदेखि पुनहिल भ्रमण गर्न जाने स्वदेशी पर्यटकबाट प्रतिव्यक्ति रु ५० र विदेशीबाट रु १५० प्रवेश शूल्क लिन शुरु गरेको छ । सङ्कलित रकममध्ये ७० प्रतिशत वडाले छनोट गरेका योजना र ३० प्रतिशत गाउँपालिकाले परिचालन गर्ने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

पर्यटकमध्ये कतिपय कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरी वा घान्द्रुक हुँदै जान्छन् भने कतिपय म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा हुँदै जान्छन् । घोडेपानीमा बास बसी सूर्योदय र हिमशृङ्खलाको दृश्य हेर्दै रमाउन बिहान ५ बजेको झिसमिसेमा आँखा मिच्दै झण्डै एक घण्टा पैदल हिँडेर पर्यटक पुनहिल पुग्ने गर्दछन् ।

असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम भए पनि झण्डै बाह्रै महीनाजस्तो पर्यटक यहाँ आउने गरेको टाढापानीस्थित होटल पानोरमा प्वाइन्ट एण्ड रेस्टुरेन्टका सञ्चालक मनबहादुर क्षेत्रीले बताए ।

प्रकाशित मिति: Nov 29, 2018

प्रतिक्रिया दिनुहोस्