Logo
१३ बैशाख २०८१, बिहीबार
(November 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीकाे भुटाहामा मुशायरा महफिल : उर्दु-हिन्दी र नेपाली ‘सायर’काे वर्षा

सुनसरीको दक्षिणी भेगको मुकामका रुपमा रहेकाे रामनगर भुटाहाबासीकालागि आइतवार रातीको समय वाह वाहीमै बित्यो । हरिनगर गाउँपालिकाको भुटाहा बजारमा रहेको बालकृष्ण उच्च माविको मैदानमा आयोजित रात्रीकालीन नेपाल-भारत बहुभाषिक कवि सम्मेलनले गर्माएको महफिलमा मंसिरको चिसोको परवाहबिनानै हजारौंले मुशायराको लुफ्त उठाए ।

एलाईन्स नेपालले आयोजना गरेको नेपाल-भारतमैत्री मुशायरा अर्थात बहुभाषिक कवि सम्मेलनको आर्कषण बन्न पुगेका भारतीय कविहरुको प्रस्तुतीले दर्शक दीर्घाका पारखीहरुलाई घण्टौं बाँधेर राखेको थियो ।

नेपाली सहित उर्दु र हिन्दी भाषामा कार्यक्रममा आमनत्रित गरिएका साहित्यकारहरुले प्रस्तुती दिएका थिए । सांसद ज्ञानेन्द्र कार्की मात्रै नभएर गाउँपालिका अध्यक्ष गफार अन्सारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीकासाथै सुरक्षा निकायका प्रमुख समेत मुशायरा कार्यक्रममा मन्त्रमुग्ध देखिए ।

तामझामका साथ राती करिब ८ बजे सुरु भएको मुशायराको आगाज नेपाली कविहरुले गरेपनि त्यसपछि भारतीय साहित्यकारहरुले एकपछि अर्को प्रस्तुती दिएका थिए ।

भुटाहा आफैंमा मुस्लिम बाहुल्यता भएको क्षेत्र हो । त्यसमा पनि आसपासका गाउँपालिका लगायतबाट ठुलो संख्यामा सर्वसाधारणको कार्यक्रममा उपस्थिती थियो । कविका पंक्तिनै पिच्छे घन्किने वाह वाहीले बहुभाषिक कवि सम्मेलनको माहौलाईनै तताएको थियो ।

रात्रीकालीन कार्यक्रम भएकाले सुरक्षाको मजबुत बन्दोवस्तीसाथ आयोजना गरी कार्यक्रम राती अवेर सम्म चल्यो । कार्यक्रम अवधीभर ठुलो संख्याका सर्वसाधारणले साथदिँदै महफिलको लुफ्त उठाए ।

नेपाल भारतको सुमधुर समवन्ध दर्शाउन र आपसी भाइचाराको उद्येश्यसाथ आयोजना गरिएको बहुभाषिक सम्मेलनमा दर्शकको उपस्थिती र सहभागि कविहरुको उत्साहजनक प्रस्तुतीले कार्यक्रमको औचित्य पुष्टि हुनुकासाथै सकारात्मक समवन्ध स्थापित गराउन फलदायी बनेको आयोजक संस्थाका अध्यक्ष नईम अन्सारीले बताए ।

मुशायरामा भारतका बिकास बोगल, भिभा शुक्ला, चाँदनी सबनम, सुल्तान जाहाँ,असद बस्तवी,अरसल महताब सहित नेपालका साकिर हारुनी, जमसेद अन्सारी, शैयब राही , डम्बरुबल्लभ भण्डारी, लिलानाथ सिलवाल, रविन्द्रमुनी कोइराला लगायतका साहित्यकारहरुले रचना, सृर्जना कविता, गजल तथा सायरी पस्केका थिए ।

प्रकाशित मिति: Nov 19, 2018

प्रतिक्रिया दिनुहोस्