Logo
११ बैशाख २०८१, मंगलबार
(November 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ किन जनकपुर आउँदैछन् ?

काठमाडौं : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन । २६ मंसिरमा हुने उनको भ्रमणका लागि प्रदेश २ सरकारले तयारी थालेको छ ।

रामजानकी विवाहपञ्चमी महोत्सवमा भाग लिन जनकपुर आउन लागेका मुख्यमन्त्री योगीको स्वागतको तयारीमा प्रदेश सरकार जुटेको आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

सत्तारुढ भाजपाका हिन्दूवादी नेतासमेत रहेका मुख्यमन्त्री योगी जनकपुर आउने भएपछि सुरक्षाका लागि जनकपुरमा पाँच हजार प्रहरी खटाइने भएको छ ।

‘सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले तयारी थालेको छ,’ यादवले भने, ‘सुरक्षाको विषयमा पहिलो चरणमा छफलफल भएको छ, दोस्रो चरणमा मुख्यमन्त्री योगी आउने रुट तथा थप सुरक्षाका रणनीति तयार हुन्छ ।’ मुख्यमन्त्री योगीको भ्रमणलाई लिएर केही दिनअघि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी जनकपुर आएर मुख्यमन्त्री लालबाबु राउतलगायतसँग छलफल गरेका थिए ।

जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले पनि रामजानकी विवाह महोत्सवमा भारतबाट आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री सहभागी हुने तय भएको बताए । योगीले दीपावलीका अवसरमा भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा यस वर्ष जन्ती लिएर जनकपुरधाम जान लागेको अभिव्यक्तिसमेत दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत २९ वैशाखमा भएको भ्रमणपछि जनकपुरमा भारतीय सरकारका मन्त्री, राज्यमन्त्री तथा सांसद र विधायकहरू आउने क्रम बढेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानमा मुख्यमन्त्री लालबाबु राउतले दिवाभोज दिने भएका छन । त्यस्तै भारतबाट जन्तीका रूपमा आउने हजार साधुसन्तलाई प्रदेश सरकारले भोज खुवाउने भएको छ । मधेस भवनमा भोजको व्यवस्था गरेको आन्तरिक मामिलामन्त्री यादवले बताए । प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउन जानकी मन्दिरलाई ५० लाख सहयोग पनि गरेको छ ।

प्रकाशित मिति: Nov 18, 2018

प्रतिक्रिया दिनुहोस्