Logo
१२ बैशाख २०८१, बुधबार
(November 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंका माइक्रोबसमा आजदेखि नयाँ नियम, पालना नगरे कारबाही हुने

काठमाडौ : काठमाडौंका माइक्रोबसमा आजदेखि नयाँ नियम लागू गरिएको छ । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले आज देखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी सङ्घका प्रतिनिधिहरुको शुक्रबारको संयुक्त बैठकले शनिबारदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको थियो । यो नियम आजैबाट लागू भएको र अनिवार्य गराइएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त बताए । उनले चालकलाई सुन्तला र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने जानकारी दिए ।

त्यस्तै माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको उनले बताए । महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए ।

महासङ्घका महासचिव सरोज सिटौलाले ज्याकेटले चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताउछन् । अहिले काठमाडौँ उपत्यकाभित्र मात्र यो व्यवस्था गरेपछि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गरिने उनको भनाइ छ ।

महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । सोही अनुसार हाल उपत्यकाका झण्डै ९० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन् ।
यो नियम पालना गर्न आलटाल गर्नेलाई प्रहरीले कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति: Nov 17, 2018

प्रतिक्रिया दिनुहोस्