Logo
१३ बैशाख २०८१, बिहीबार
(November 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैँडा बस्ती पस्न थालेपछि स्थानीय त्रसित

चितवन : चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै वासस्थानको समस्याले बस्ती पसेको अनुमान गरिएको छ । चितवन जिल्लाको प्रमुख शहर नारायणगढ बजारको बेलचोक र बाह्रघरे क्षेत्रमा नियमितजसो रातको समयमा गैँडा आउने गर्दछ । स्थानीय पत्रकार रमेशकुमार पौडेलका अनुसार तिहारको केही दिन पटका पड्कँदा गैँडा नदेखिए पनि अन्य समयमा राति र बिहान गैँडा आउने गर्दछ । एउटा बच्चा र दुई ठूला गैँडा देखिने गरेको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा लगाइएको आलु, धानजस्ता बाली खान गैँडा आउने गरेको उहाँले बताउनुभयो । जसका कारण बिहान सबेरै र राति अबेर हिँड्डुल गर्नेलाई समस्या भएको छ । तीन वर्षयता नजिकैका क्षेत्रमा गैँडाकै आक्रमणबाट दुईको मृत्यु भइसकेको छ ।

सौराहा क्षेत्रमा पनि गैँडा नियमित शहरी क्षेत्रमा पस्ने गरेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले तीनवटा गैँडा नियमित सो क्षेत्रमा आउने गरेको बताउनुभयो । पर्यटकीय हिसाबले यो राम्रो नभएको भन्दै उहाँले निकुञ्जले बासस्थानको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले नारायणगढ क्षेत्र, नवलपुर क्षेत्रसहित निकुञ्जका पश्चिमी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । निकुञ्जभित्र घाँसे मैदान आवश्यकताअनुसार व्यवस्थापन हुन नसक्नु, घाँसे मैदानलाई माइकेनिया नामको अतिक्रमित झारले ढाक्नु, दलदल र पानीका स्रोत कम हुँदै जानुले गैँडा मानव बस्तीमा पसेको उहाँले बताउनुभयो ।

बस्ती र निकुञ्ज एवं मध्यवर्ती क्षेत्रमा आवातजावत गर्न रोक्ने गरी बार लगाउन सके यो समस्या कम हुने उहाँले बताउनुभयो । यससँगै निकुञ्जभित्र गैँडाको बासस्थान व्यवस्थापनमा विशेष सुधार गर्नुपर्ने उहाँको भनाइ छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको र पूर्वमा कम भएका कारण पश्चिमी क्षेत्रमा बढी समस्या देखिएको छ ।
पश्चिमका गैँडा पूर्वमा स्थानान्तरण गर्ने तयारीमा पनि निकुञ्ज लागेको उहाँले बताउनुभयो । निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घाँसे मैदानको व्यवस्थापनको अभावमा गैँडा बस्ती पसेको बताउनुहुन्छ । आहारा र बासस्थान निकुञ्जभित्र राम्रो नभएसम्म यो समस्या आइरहने उहाँले बताउनुभयो । हालै मात्र नवलपुरको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा गैँडा आएर तीन मानिसलाई घाइते बनाएको, सवारीसाधन तोडफोड गरेको उहाँले जानकारी दिनुभयो ।

बस्ती क्षेत्रमा गैँडा आउन थालेपछि स्थानीय मात्रै नभएर गैँडा पनि जोखिममा परेको संरक्षणकर्मीहरू बताउँछन् । विगतका वर्षहरूमा चोरीशिकारबाट गैँडा मारिएको छैन । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । यसै आर्थिक वर्षमा गैँडा गणनाको तयारी निकुञ्जले थालेको छ । चार वर्ष अघि गैँडा गणना गरिएको थियो ।

प्रकाशित मिति: Nov 15, 2018

प्रतिक्रिया दिनुहोस्