Logo
१३ बैशाख २०८१, बिहीबार
(November 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री डोरमणि पौडेलको ‘शंकास्पद’ निवास !

काठमाडौं : मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गरिदिएको छ ।

त्यही आईएनजीओ एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका छन् । तीन तल्ले घरको बीचको तल्लामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन् ।

भैसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो । यसको स्वामित्व सहरी विकास मन्त्रालयमा छ । मकवानपुरबाट वितमा लोकप्रियता हासिल गरेका उनी हेटौंडामै प्रादेशिक राजधानी स्थायी बनाउने जोडबलमा लागेका छन् । काठमाडौंमा प्राविधिक राखेर योजना बनाउन लगाउनुको कारणबारे भने संवादमा उनले भनेका छन्, ‘हेटौंमा बसेर गर्न असहज भएर ।’

सरकारी निवासको दोहोरो सुविधालाई उनी अन्यथा ठान्दैनन् । ‘सरकारले दिएको निवास प्रयोग गर्दा के आपत्ति भयो ? ’ उनले भने, ‘एसिया फाउन्डेसनले योजनामा प्राविधिक सहयोग गरेको हो । उसले सहकार्य गर्न चाहेकाले गरिएको हो ।’

घरको माथिल्लो तलामा मुख्यमन्त्री पौडेल काठमाडौं आएका बेला वस्छन् । दोश्रो तलामा प्रदेशको नीति तथा योजना आयोग अन्र्तगतका प्राविधिक कर्मचारीहरु बसेर काम गर्छन् । भुइँ तला प्रदेश कृषिमन्त्री दावा लामालाई छुट्टयाइएको छ । लामा काठमाडौं आएका वेला त्यहाँ बस्छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

प्रकाशित मिति: Nov 14, 2018

प्रतिक्रिया दिनुहोस्