Logo
१२ बैशाख २०८१, बुधबार
(November 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका-जापान व्यापार सम्झौता “नमुना” हुन्छ : पेन्स

टोकियो : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताउनुभएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै उपराष्ट्रपति पेन्सले जापानसँग अमेरिकी व्यापार असन्तुलित किसिमको रहेको वासिङ्टनको धारणा रहेको दोहो¥याउनुभयो ।

“संयुक्तराज्य अमेरिकाको जापानसँग लामो समयदेखि व्यापार असन्तुलन रहिआएको छ । अमेरिकी उत्पादन र सेवालाई जापानी बजारमा स्वच्छ प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ,” आबेसँगै उभिनुभएका पेन्सले पत्रकार सम्मेलनमा बताउनुभयो ।

“अब हुने द्विपक्षीय व्यापार सम्झौतामा स्वच्छ र परस्पर लाभमा आधारित व्यापारका लागि उपयुक्त वातावरण निर्माण गरिनेछ,” पेन्सले भन्नुभयो । “सम्झौतामा राखिने वस्तु र सेवासम्बन्धी नयाँ नियमहरु कार्यान्वयनमा आउने मेरो विश्वास छ । अमेरिका–जापान व्यापार सम्झौता हिन्द–प्रशासन क्षेत्रमै नमुना (मोडेल) हुनेछ ।”

जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सेप्टेम्बरमा द्विपक्षीय व्यापार सम्झौता पुनरावलोकन गर्ने सहमति जनाउनु भएको थियो ।

विश्वकै पहिलो र तेस्रो ठूलो अर्थतन्त्र भएका संयुक्तराज्य अमेरिका र जापानले विश्वको कूल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत हिस्सा ओगट्छन् । दुवै देशबीचको व्यापार सम्बन्धमा बेलाबखत तनाव सिर्जना हुने गरेपनि दुवै देशले आपसी सहमतिमा विवादहरु टुङ्ग्याउने गरेका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा बढ्दो चिनीया प्रभावलाई रोक्ने उद्देश्यसहित ट्रान्स–प्यासिफिक पार्टनरसीप (टीपीपी) सम्झौतामा जापान र अमेरिकाबीच सहमति भएको थियो । तर राष्ट्रपति ट्रम्पले उक्त सम्झौता अमेरिकी हित विपरीत रहेको भन्दै टीपीपीबाट अमेरिकालाई अलग राख्नुभएको छ ।

प्रधानमन्त्री आबेले टीपीपीमा वासिङ्टन सहभागी हुने आशा गर्नुभएको छ ।

सिंगापुरमा आयोजना हुने आसियान बैठक तथा पपुआ न्यू गिनीमा हुने एपेकको बैठक समेतका विभिन्न क्षेत्रीय सम्मेलनहरुमा सहभागी हुनुअघि अमेरिकी उपराष्ट्रपति पेन्स जापान भ्रमणमा आउनुभएको हो ।

यी बैठकमा राष्ट्रपति ट्रम्प सहभागी नभएका कारण धेरैले अमेरिकी नीतिको आलोचना गर्नुका साथै यसबाट चिनीया प्रभाव अझ विस्तार हुने अनुमान गरेका छन् ।

प्रकाशित मिति: Nov 13, 2018

प्रतिक्रिया दिनुहोस्