Logo
१३ बैशाख २०८१, बिहीबार
(November 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनलाइन ट्रेडिङमा समस्या : लगानीकर्ता निराश

काठमाडौं -कार्तिक २० गतेबाट सुरुवात गरिएको अनलाईन कारोबार प्रणालीमा समस्या देखिएको भन्दै सरोकारवालाहरुबाट तिब्र आलोचना खेपेपश्चात नेप्सेले सोमबार विज्ञप्ती जारी गरेर प्रष्टिकरण दिएको छ। 

नेप्सेले रियल टाइममा कारोबार विवरण हेर्ने नपाउने समस्या कारोबार प्रणालीसँग नभई कारोबार विवरण प्रसारण गर्ने माध्यमको समस्या भएको जनाएको छ ।  

नेप्सेको कारोबार प्रणाली र वेवसाईट छुट्टा छुट्टै डेटा सेन्टरबाट सञ्चालन हुने र एप्लिकेशन प्रोग्राम इन्टरफेस (API) बाट नेप्सेको वेवसाइटमा डिस्प्ले गर्दा डेटा एक्सचेञ्जमा देखिएको समस्याले कारोबार विवरण प्रवाह गर्न नसकिएकोमा हाल सो समस्या हटेको नेप्सेले जनाएको छ । 

नयाँ प्रणाली स्थापनापछि पनि परिसूचक गणना संसारभरी प्रचलित पुरानै (भ्यालू वेटेड इनडेक्स्) विधिबाटै गणना गरिएकोले  साे मा समस्या नरहेकाे स्पष्ट हुन नेप्सेले आम लगानीकर्तालाई अनुरोध गरेको छ ।

नयाँ प्रणालीमा हरेक ब्रोकर कम्पनीले अविछिन्न रुपमा कनेक्सन स्थापना गर्न नसकेका कारण एउटा र अर्कौ ब्रोकरमा कम्पनीको मूल्य फरक देखिएको हुनसक्ने नेप्सेले जनाएको छ ।

लगानीकर्ताले मागेको तत्काल राफसाफ तथा फस्र्यौटको सम्बन्धमा चारवटै क्लियरिङ्ग बैंकले विद्युत्तिय स्थातान्तरणलाई सहज बनाएको अवस्थामा मात्र सम्भव हुने नेप्सेले जनाएको छ । हाल एक बैंकले मात्र यस्तो सेवा प्रदान गरिरहेको उसले जनाएको छ ।

यस प्रणालीलाई सफलतापूर्वक सञ्चालन गर्दै जायज चासोलाई सम्बोधन गर्दै पूँजी बजारको विकास र विस्तारमा लाग्ने नेप्सेले जनाएको छ । अनलाइन प्रणालीमा देखिएका समस्या क्रमिक रुपमा समाधान गर्दै पूँजी बजारको विकास र विस्तारमा प्रतिबद्ध रहेको नेप्सेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अनलार्इन टेड्रिङ्ग सुरुव भएदेखि सिस्टममै समस्या भएको कारण नेप्सेमा न्यून कारोबार हुँदै आएको छ । शुरुको दिनहरुमा लगइन गर्ने समस्या रहने गरेकोमा अहिले अर्डर पोष्टिङ्गमा समस्या देखिने गरेको ब्रोकरहरु बताउँछन् ।

यता समस्या देखिएका केही ब्रोकरमा समस्या समाधानका लागि आफ्ना प्राविधिक टोलीहरु खटाउने नेप्सेले जनाएको छ । तर न्यून कारोबार हुनुमा सिस्टम मात्र दोषी नभएर लगानीकर्ताको आवश्यक जानकारी अपडेट नभएकाहरुको अनलाइन कारोबारको अडर्रमा समस्या उत्पन्न भएको नेप्से बताउँछ ।

उच्च लागतमा बनाइएको सफ्टवेयरले ब्रोकरहरुकाे काराेबारमा नै समस्या आउन थालेपछि अनलाइन ट्रेडिङ्गले लगानीकर्ता तथा ब्रोकरहरुमा थप उत्साह जगाउन सकेको छैन ।

लक्ष्मी पुजाको अघिल्लो दिन अर्थमन्त्रीले उद्घाटन गरेको अनलाइन ट्रेडिङले लगानीकर्ता तथा ब्रोकरहरुलाई नै अन्यौलमा पारिदिएको छ । 

गत वर्षको कात्तिक २१ गते नै ल्याउने भनिएको अनलाइन प्रणाली त्यसको एक वर्षपछि सञ्चालनमा आउँदा समेत सिस्टमले राम्ररी काम गर्न सकिरहेको छैन ।

प्रकाशित मिति: Nov 12, 2018

प्रतिक्रिया दिनुहोस्