Logo
४ बैशाख २०८१, मंगलबार
(November 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा मध्यराति संसद भंग गरी चुनाव घोषणा, विपक्षीद्वारा अस्वीकार

श्रीलंकामा राजनीतिक संकट गहिरिदै जाँदा राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद विघटन गरेका छन्। राष्ट्रपति कार्यालयले शुक्रबार मध्यरातबाट लागू हुने गरी संसद विघटन भएको सूचना जारी गरेको हो।

राष्ट्रपति सिरिसेनाले पुस २१ का लागि संसदीय चुनावको मिति तोकेका छन्। विपक्षीले सर्वोच्च अदालतमा रिट हाल्न सक्ने भएकाले यो मितिमा चुनाव त्यति सहज भने छैन।

सिरिसेनाले बर्खास्त गरेका प्रधानमन्त्री रनिल विक्रमासिंघेको दल युनाइटेड नेसनल पार्टी (युएनपी) ले संसद भंग गरेर चुनाव गराउने अधिकार राष्ट्रपतिलाई नभएको प्रतिक्रिया दिएको छ। विक्रमासंघेका दलका एक सांसद अजित परेराले संसद विघटन गर्ने राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै यो रद्द हुने बताएका छन्।

बिबिसीसँग उनले भने, ‘निर्वाचन आयोगसँग देशभित्र रक्तपातपूर्ण संघर्ष बिना शान्तिपूर्ण रुपमा यो मुद्दा समाधान गर्न निवेदन गर्दछु।’

राष्ट्रपति सिरिसेनाले कातिक ९ मा विक्रमासिंघेलाई बर्खास्त गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएयता श्रीलंकामा शक्ति संघर्ष चल्दै आएको छ। विक्रमासिंघेले पद छाड्न अस्विकार गर्दै आफूलाई हटाउनु असंवैधानिक भएको जिकिर गर्दै आएका छन्।

प्रधानमन्त्रीमा नियुक्त राजापक्षेले चुनावको समर्थन गरेका छन्। उनले ट्विट गर्दै ‘नेताको रुपमा आफ्नो जिम्मेवारी भनेको श्रीलंकाको भविष्यको बारेमा आमजनताले फैसला गर्ने अवसर दिनु हो’ भनेका छन्।

‘आम चुनावले देशलाई स्थिरतातर्फ लैजान्छ’, राजापक्षेले लेखेका छन्।

संसदमा बहुमत पुर्याउन सक्ने संभावना नभएकाले सिरिसेना र राजापक्षेको नयाँ गठबन्धनलाई चाँडै चुनाव आवश्यक छ। तर युएनपी भने चुनावको बारेमा संसदभित्र मतदान गराउन चाहन्छ।

प्रकाशित मिति: Nov 10, 2018

प्रतिक्रिया दिनुहोस्