Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री रार्इको समाचार लेख्दा अमेरिकामा कुटिए पत्रकार,घटना मिलाउनुपर्ने भन्दै दबाब

काठमाडौँ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको समयअनुसार गएराति कुटपिट भएको हो । 

पत्रकार राईमाथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निकट सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले कुटपिट गरेका हुन् । 

‘उडसाइडमा तिहारको कार्यक्रममा मलाई पनि निम्ता भएकाले त्यहाँ पुगेको थिएँ, कार्यक्रममा केही समय बसेर बाहिर निस्केको समयमा मुख्यमन्त्रीको त्यस्तो समाचार किन लेखेको भन्दै ममाथि कुटपिट भयो’, राईले अन्नपूर्णसँग भने, ‘उमेश राईले मेरो अनुहारमा मुक्का बर्साएपछि तत्कालै मलाई एम्बुलेन्सले स्थानीय अस्पतालमा लगेर भर्ना गर्यो, ६ घण्टा अस्पताल बसेपछि डिस्चार्ज भएको छु । 

पत्रकार राईमाथि कुटपिट भएपछि घटनास्थलमा तत्कालै प्रहरी पुगेको थियो । प्रहरीले अस्पतालमा पत्रकार राईसँग भेटेर प्रहरीले दोषीलाई कारबाही गर्ने बताएका छन् । ‘विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा ममाथि समाचार लेखकै आधारमा कुटपिट भएको छ, अब कानुनी लडाइँमा जाने तयारीमा छु ।’

आफूमाथि भएको कुटपिटको घटना सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि मिल्नुपर्ने दबाब आउन थालेको जानकारी उनले दिएका छन् । 

अमेरिकामा पत्रकारमाथिको आक्रमणलाई अत्यन्तै गम्भीररुपमा लिइन्छ । पत्रकार राईमाथि भएको यो कुटपिटको घटनामा संलग्नमाथि अमेरिकाबाट डिर्पोट गर्न सक्ने समेत कानुनी व्यवस्था त्यहाँ छ । 

के लेखेका थिए समाचार ? 

पत्रकार राईले एक अनलाइनमा मुख्यमन्त्री राई थाइल्यान्डबाट यही मंगलबार अमेरिका पुगेको समाचार लेखेका थिए । जसमा उनलाई न्यूयोर्कका विवादास्पद पृष्ठभूमिका केही व्यक्ति र संस्थाले स्वागत गरेको कुरा पनि उल्लेख थियो । 

त्यसैगरी मुख्यमन्त्री राईलाई स्वागत गर्न नेपालमा विवादास्पद क्रियाकलपाले बदनाम हेवेन्ली पाथका एक अगुवा पनि पुगेको समाचार थियो । तर त्यो समाचारमा राईलाई स्वागत गर्न नेकपानिकट कुनै कार्यकर्ता नगएको पनि उल्लेख थियो । 

राईले फेसबुकमा सेयर गरेको एक अनलाइनको समाचारमा मुख्यमन्त्री राईलाई न्यु जर्सीस्थित नेवार्क इन्टरनेशनल एअरपोर्टमा निमित्त महावाणिज्यदूत पुष्पराज भट्टराई, सङ्घीय समाजवादी फोरम न्युयोर्कका उपाध्यक्ष, जनमुक्ति पार्टीका अमेरिका अध्यक्ष अग्नि राई, तत्कालीन डेमक्रेटिक फोरम (प्रवासी मञ्च) कोअर्डिनेटर टेक गुरुङलगायतले स्वागत गरेका उल्लेख थियो । 

समाचार टिप्पणीले आक्रोश 

पत्रकार राईले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली न्यूर्योक पुग्दा कालोझण्डा देखाउनेहरुबाटै मुख्यमन्त्री राईको स्वागत भएको भन्दै ‘पिएमलाई कालोझण्डा सीएमलाई सम्मान’ शीर्षकमा अर्को समाचार टिप्पणी बुधबार लेखेको थिए । 

उनले त्यस समाचार टिप्पणीमा भनेका थिए, ‘आफ्नै पार्टीको प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने फिप्नासँग सहकार्य गर्दै प्रदेश १ का मुख्यमन्त्रीलाई सम्मान गर्ने कार्यक्रम राख्नुले प्रवासी मञ्चको भूमिकामा पनि सन्देह पैदा भएको छ ।’

प्रधानमन्त्रीको विरोध मुख्यमन्त्रीको स्वागत

गत सेप्टेम्बर अन्तिम साता प्रधानमन्त्री केपी ओली अमेरिका पुगेका थिए । संयुक्त राष्ट्रसंघको ७३ महासभा सम्बोधन गर्न ओली पुग्दा उनलाई केही समूहले कालोझण्डा देखाएका थिए । 

राष्ट्रसंघको महासभामा शान्तिपूर्ण रुपान्तरण भएको, नेपालको संविधान प्रजातान्त्रिक भएको र त्यसले सबैको भावना समेटेको दाबी गरिरहँदा बाहिर उनलाई विभिन्न संघसंस्थ उनीविरुद्धा धर्नामा थिए । ओलीको विरोध गर्ने मुख्य संस्था फिप्ना थियो, जसको मुख्य माग पहिचानमा आधारित ११ प्रदेश, विभेद हटाउन संविधान संशोधन र २६ थारु बन्दीको रिहाइ थियो । 

‘अमेरिका बस्ने थुप्रै देशका नागरिकले महासभा सम्बोधन गर्न आएका आफ्नो देशको राष्ट्र–सरकार प्रमुखलाई झाँकीसहित स्वागत गरिरहेका थिए । नेपालका प्रधानमन्त्री ओली भने विरोधको सामना गरिरहेका थिए’, राईले बुधबार लेखेको समाचार टिप्पणीमा भनिएको थियो, ‘त्यतिबेला सरकार प्रमुखका रुपमा प्रधानमन्त्री ओलीको मनोदशा कस्तो बनेको थियो होला ? त्यो घटनाको डेढ महिना नपुग्दै फिप्नाले उनी संलग्न दल नेकपाबाटै प्रदेश १ को मुख्यमन्त्री बनेका राईलाई सम्मान गर्दैछ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका 
(फिप्ना) ले हात पारेको छ ।’

विवादास्पद व्यक्तिसँग किन ? 

पत्रकार राईले त्यही टिप्पणीमा अर्को गम्भीर कुरा पनि उठाएका थिए । नेपालमा हेवेन्ली पाथका नाममा विवादास्पद गतिविधि गरिरहेको एउटा धार्मिक समूहको व्यक्तिसमेत सहभागी भएको कार्यक्रममा स्वागत र सम्मान थापेकोमा पनि राईले प्रश्न गरेका छन् । 

‘स्वागत तथा सम्मान कार्यक्रमले मख्यमन्त्री राई दङ्ग होलान् । तर, यसले सबैभन्दा बढी नोक्सान उनैलाई पु¥याएको छ । पहिलो, उनले नेपालमा ठगको सामाजिक छवि बनाएको ‘गड एञ्जल’ को संगठन हेवेन्ली पाथका अनुयायीबाट अमेरिकाको विमानस्थलमा स्वागत गरिन स्वीकारे’, उनले भनेका छन्, ‘यसले उनलाई किरात राई धर्म संस्कृति अगाँल्ने समुदायबाट पखाल्ने काम गरेको छ जुन उनको भोटको एउटा महत्वपूर्ण आधार हो । दोस्रो, उनले आफ्नै सरकारका प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने संस्थाबाट सम्मान थाप्न स्वीकार गरे जुन कुनै पनि नीति र सिद्धान्तसँग मेल खाँदैन । जिम्मेवार उनी आफैँ हुन् । उनले ‘मैले थाह पाइन’ भनेर वा कसैलाई बलिको बोको बनाएर उन्मुक्ति पाउँदैनन् ।’

पत्रकार राईले मंगलबार लेखेको समाचार

उपचारका लागि थाइल्याण्डको बैंकक हिँडेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई मङ्गलवार साँझ अमेरिका आइपुगेका छन् ।

उनलाई न्यु जर्सीस्थत नेवार्क इन्टरनेशनल एअरपोर्टमा निमित्त महावाणिज्यदूत पुष्पराज भट्टराई, सङ्घीय समाजवादी फोरम न्यु योर्कका उपाध्यक्ष, जनमुक्ति पार्टीका अमेरिका अध्यक्ष अग्नि राई, तत्कालीन डिमक्रटिक फोरम (प्रवासी मञ्च) को–अर्डिनेटर टेक गुरुङलगायतले स्वागत गरेका छन् । स्वागतमा एमाले सम्बद्ध प्रवासी मञ्चका वर्तमान पदाधिकारी र कार्यकर्ताको उपस्थिति भने लगभग शून्य थियो ।

मुख्यमन्त्री राईको स्वागतमा एमाले सम्बद्ध प्रवासी मञ्चका वर्तमान पदाधिकारी र कार्यकर्ताको उपस्थिति भने लगभग शून्य थियो । निमित्त वाणिज्य दूत भट्टराईले प्रदेश एकका मुख्यमन्त्री राईलाई स्वागत गरेको बताए । ‘मुख्य मन्त्रीज्यू आउने भन्ने जानकारी पाएपछि स्वागत गर्न गएँ,’ उनले भने ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्डको ब्यांकक पुग्ने निर्णय मात्र भएको छ । ‘निजी भ्रमण भए पनि मुख्यमन्त्रीजस्तो मान्छे क्याबिनेटको निर्णय बिना अन्य देश जान मिल्दैन,’ परराष्ट्रका ती अधिकारीले भने, ‘यसरी बिना निर्णय अर्को देश भ्रमण गर्नु कूटनीतिक आचारसंहिता विपरीत छ ।’ 

स्रोतका अनुसार मुख्यमन्त्री राई अमेरिका आउने निर्णय प्रदेश एकको क्याबिनेटले पनि गरेको छैन । नेपाल कम्युनिस्ट पार्टीलाई पनि मुख्यमन्त्री राई अमेरिका आउने औपचारिक जानकारी छैन । ‘अध्यक्षलाई भनेर हिँड्नु भएको होला,’ एमालेका एक उच्च अधिकारीले भने, ‘पार्टीलाई औपचारिक जानकारी गराइएको छैन ।’

पार्टीको निर्णय र सरकारको स्वीकृति बेगर अमेरिका पुगेकाले उनलाई प्रवासी मञ्चका कार्यकर्ताको जत्था विमानस्थलमा स्वागत गर्न नपुगेको अनुमान गरिएको छ । उनलाई स्वागत गर्न पुगेका सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष हेवेन्ली पाथका प्रवर्तक पनि हुन् । 

उपाध्यक्ष राष्ट्रसंघीय महासभामा भाग लिन आएका नेपालका प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउने कार्यक्रम आयोजकमध्ये एक हुन् । मुख्यमन्त्री राईको स्वागतमा हेवेन्ली पाथ न्यु योर्कका अध्यक्ष सुकु राई (पम्फा) पनि पुगेकी थिइन् । 

स्रोतका अनुसार मुख्यमन्त्री राई न्युयोर्कको कार्यक्रम सकेर वासिङ्टन डिसीस्थित क्यानडेली दूतावास पुग्ने योजनामा छन् । त्यसपछि उनी नायग्रा फल्स हुँदै क्यानडा जाने कार्यक्रम छ । अन्नपूर्णबाट

प्रकाशित मिति: Nov 10, 2018

प्रतिक्रिया दिनुहोस्