Logo
१३ बैशाख २०८१, बिहीबार
(November 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च पदस्थ व्यक्तित्वद्वारा शुभ साइतमै भाइटीका ग्रहण

राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिले शुभ साईतमै भाइटीका लगाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाई डेगेन्द्र पाण्डेलाई शितल निवासमै भाईटिका लगाइदिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।राष्ट्रपतिले लगाउने भाइटीकाको फोटो र भिडियो खिच्न गएका सञ्चारकर्मीले भने प्रवेश पाएनन् । यसअघिका वर्षमा सञ्चारकर्मीले प्रवेश पाए पनि यो वर्ष भने गेटमा सुरक्षाकर्मीले रोकेका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभ साइतमै भाइटीका लगाउनुभएको छ ।सरकारी निवास कपुरधारामा पुनले नजिकका बहिनीहरुसँग भाइटीका लगाउनुभएको उहाँको सचिवालयले जनाएको छ । पुनका एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाको हातबाट भाइटीका लगाउनुभएको उहाँका प्रेस सल्लाहकार मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमै विहान ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लगाउनुभयो । उहाँले बहिनी विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लगाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने यो पटक भाइटीका लगाउनुभएन । छोरा प्रकाशको गत मंसिरमा निधन भएका कारण दाहालले यो वर्ष तिहार लगायत कुनैपनि चाडपर्व मनाउनुभएको छैन । प्रमुख प्रतिपक्षी कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य मिना पाण्डे र सुशिला खड्काको हाटबाट टिका लगाउनुभयो । देउवालाई केन्द्रीय सदस्य पाण्डेले वर्षौदेखि टिका लगाउदै आउनुभएको छ । सभापति देउवाका आफ्नै ४ दिदीवहिनी छन् । उहाँका २ जना दिदीबहिनी गाउँमै रहेको र २ जनाको जुठोपरेकाले यो वर्ष टिका लगाउन नमिलेको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले भने बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग विहान ९ बजेर ५१ मिनेट जाँदा भाइटीका लगाउनुभएको हो । भाइटीका लगाउन पूर्वराजा शाह बहिनी शोभाको कमलादीस्थित निवास पुग्नुभएको थियो । पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम हुने बताए पनि पूर्वराजाले अलग्गै साइतमा टीका लगाउनुभएको हो । विधिपूर्वक भाइटीका सकिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा पूर्वराजाले कुनै राजनीतिक टिप्पणी भने गर्नुभएन । 

प्रकाशित मिति: Nov 9, 2018

प्रतिक्रिया दिनुहोस्