Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार आजदेखि अनलाइन प्रणालीमा, लगानीकर्ता अब ब्रोकर कहाँ धाइरहनु नपर्ने

काठमाडौं : औपचारिक रुपमा आजबाट (कात्तिक २०) अनलाइन कारोबार प्रणालीको शुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेसँगै अनलाइन कारोबार प्रणाली शुरु भएको हो । नेपालको पुँजी बजारलाई विश्व स्तरीय बनाउन अनलाइन कारोबार प्रणालीमा लगिएको नेपाल स्टक एक्सचेन्जले भनेको छ ।

सेयर बजारमा धेरैको चासो र प्रतिक्षाको विषयको रुपमा रहेको अनलाइन कारोबार प्रणाली आएपछि बजार बढ्नेमा अधिकांश लगानीकर्ताहरु ढुक्क देखिन्छन् । यो प्रणाली शुरु भएसँगै अब लगानीकर्ता ब्रोकरकहाँ धाइरहनु पर्दैन । इन्टरनेटको पहुँच भएको स्थानबाट सेयर खरिद बिक्रिको आदेश दिन सकिनेछ ।

लगानीकर्ताले इरुन्टरनेटको माध्यमबाट कारोबार गर्न सबैभन्दा पहिले ब्रोकर कार्यालयमा उपलब्ध रहेको केवाइसी फारम भर्नुपर्दछ । फारममा अनलाइन कारोबार रोजेकाले मात्र स्वयम कारोबार गर्न सक्छन् । अफलाइन खाता भएका लगानीकर्ताले भने ब्रोकरको माध्यमबाट मात्र कारोबार गर्न सक्छन् ।

यदि तपाइले अनलाइनबाट कारोबार गर्न चाहनुहुन्छ भने फारममा रहेको अनलाइन अप्सन छान्नुपर्नेछ । ब्रोकरले केवाइसी फर्म रुजु गरी टिएमएसमा लगानीकर्ताको खाता खोली युजर नेम र पासवर्ड लगानीकर्ताले उपलब्ध गराएको इमेलमा पठाउँछ । प्राप्त भएको युजर नेमअनुसार पासवर्ड रिसेट गरी ब्रोकरले उपलब्ध गराएको लिमिट र यूआरएल प्रयोग गरी लगानीकर्ताले कारोबार गर्न सक्छन् ।

अंग्रेजीमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) अर्थात कारोबार व्यवस्थापन प्रणाली भनेको ब्रोकर तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्र खरिद बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणालीनै कारोबार व्यवस्थापन प्रणाली हो । यसबाट ब्रोकरले लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयको कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन लगायतको काम गर्न सक्छन् ।

लगानीकर्ताले अनलाइन कारोबार गर्न प्राप्त भएको युजर नेम र पासवर्ड सुरक्षित राख्नुपर्छ र लिमिट अनुसारको कारोबार गर्नुपर्छ । यो इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयमले विभिन्न सेयर खरिद बिक्री आदेश दिएर कारोबार गर्न सकिने प्रणाली हो ।

यस प्रणालीमा कम्पनी सूचिकरण, सदस्य दलाल दर्ता, सुपरिवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालन लगायतका कार्यहरु पूर्णरुपमा स्वचालित छन् । छुट्टा छुट्टै २० वटा मोडल र अन्य सहायक मोडल मिलेर एकिकृत रुपमा नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) को विकास गरिएको छ ।

 

प्रकाशित मिति: Nov 6, 2018

प्रतिक्रिया दिनुहोस्