Logo
८ बैशाख २०८१, शनिबार
(November 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद नवीना लामालाई पत्र : माननीय ज्यू, जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?

माननीय सांसद नवीना लामा ज्यू नमस्कार,

कुशल रही कुशलताको कमना गर्दछु ।

तपाईंलाई सम्बोधन गरेर यो खुल्ला पत्र लेख्न धेरै दिनदेखि हिम्मत जुटाउन सकिरहेको थिएन तर आज हिम्मत जुटेर आउँदा आफैले आफैलाई प्रश्न गरेँ कतै तपाईले यो पत्र आम मिडियाले गर्ने प्रचारको एउटा भागको रुपमा लिनुहुन्छ की भन्ने । अनि सोचेँ के म यो पत्र लेख्न लायक छु ? मनले जबाफ दियो पक्कै पनि । फेरि तपाईंलाई नै सम्बोधन गरेर किन यो पत्र लेख्ने ? प्रश्न उब्जियो । जबाफ आत्माले दियो । किन नगर्ने विद्यार्थी आन्दोलनमा होस या जनप्रतिनीधिका रुपमा तपाईँले हामी जनजातीका लागि गरेको योगदानको बारेमा किन नलेख्ने ? किन नभन्ने ? आज नभने कहिले भन्ने ?

पत्र पढ्दै गर्दा तपाईँको मनमा लाग्ला कुनै एलिट समूह वा कुलिन घराना वा यस्तै सुकिलामुकिलाको प्रतीनिधित्व गर्नेले लेख्ने आँट गर्‍यो होला । या यो मान्छे केहि कुरामा सम्झाैता गर्न चाहन्छ । पक्कै पनि यस्तो केहि होइन् । केवल तपाईँले सिंगो मुलुकका लागि लड्दै गर्दा आफ्नो वंशको बारेमा जसरी एकमत दत्तचित्त भएर लाग्नु भयो त्यसले तपाईँमाथी हामी जनजातीको अझ धेरै भक्तिभाव पलाएको छ । यसका साथै म लगायत हामी सम्पूर्ण जनजातीमा तपाईँमाथी आशा जागेर आएको छ ।

अहिले नेपालमा विभिन्न कुरालाई उछालेर सडकको कुरा सदन र सदनको कुरा सडकमा ल्याएर सतही बहस गर्ने र मानिसको चरित्र हत्या गर्ने काम व्यापक डंगले भइरहेको छ । यसै सन्दर्भमा तपाईँलाई जोडेर नविना लामाले गुण्डा नाइके भनेर चिनिने सत्यमान लामालाई राजनीतिक पावरको प्रयोग गर्दै छुटाइन भनेर मिडियामा समाचार आउँदा पहिले त छाङ्गाबाट खसेजस्तै भएको थिए । मनमा अनेकन तर्कनाहरु खेल्न थालेका थिए । आखिर हामी जनजातीलाई प्रयोग गरेर हाम्रै ढाडमाथी छुरा प्रहार गर्ने चुच्चे नाकवालाहरु सक्रिय यसै पनि थिए नै ।

अन्ततः तपाईले फेसबुकमा लामो सन्देशमुलक स्टाटस लेखेर अपराधको संरक्षण गरेर नेता बन्न आवश्यक नरहेको भन्दै प्रष्ठिकरण दिनुभए पछि चैनको श्वास फेरे । सायद यो देशमा हामी जस्ता थेप्चा नाकवालालाई युद्धमा समावेश गराएर चुच्चे नाकवालाहरु राज गर्न चाहन्छन होला । हाम्रा पुर्खाहरु अहिले पनि स्वदेश तथा विदेशमा वीर गोर्खालीका रुपमा चिनिन्छन् । हामी रेमिट्यान्सका सुनाैला गुच्चा जस्ता बन्न पुगेको आभास भइरहेको पनि छ ।

नेपालमा थेप्चा नाकका विरुद्धमा चुच्चे नाकवालाहरु हदैसम्मको षडयन्त्र गरेर सफल मान्छेलाई समेत असफलको बिल्ला भिराउन माहिर छन् । यसैको सिकार कानुन मन्त्री शेरबहादुर तामाङ भइसकेका छन् । अब भने अर्को निसानामा परेका छन् वर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ।

अहिले बादलमाथी षडयन्त्र गर्नेहरु के थाहा भोली तपाईँमाथी नै जाइ लाग्दैनन् भन्ने कुरा । आखिर जनताको काममा अहोरात्र खटिएका गृहमन्त्रीलाई हटाउन नेपालमा केहि एलिटहरु नलागेका कहाँ हुन् र ? हामीलाई त आशा मरिसकेको थियो अब गृहमन्त्रीलाई कुनै पनि हालतमा पदमा बस्न दिदैनन् भन्ने कुरा । बादलसंगै युद्ध लडेका पार्टीका अध्यक्ष प्रचण्डले आफ्नो अर्काको नभनेर मन्त्री मण्डल विस्तार हुने कुराको जनाउ दिदाँ मेरो मनमा चिसो पसिसकेको थियो ।

बग्रेल्ति च्याउजस्तै खुलेका मिडियाहरुले बादलको बहिर्गमनका बारेमा निरन्तर समाचार लेखिरहँदा जनजाती नेतालाई फेरि कानुन मन्त्रीको जस्तै व्यवहार गरिदै छ भन्ने कुराले पिरोल्न तालिसकेको थियो । तर, तपाईँ गृहमन्त्री बादलको पक्षमा जसरी उभिनु भयो त्यसरी नै अन्य नेताहरुलाई समेत प्रेरणा दिइरहनु भयो । आखिर बादलले कुनै ठुलै अपराध गरेका त थिएनन् नी ।

नेपालका केहि एलिट चुच्चे नाकवालाहरुको मिडियाले प्रहरी प्रमुखको फूलि लगाइदिएर गृहमन्त्रीको अपमान गर्दा जनजातीको पक्षमा बोल्ने चुच्चे नाकवालाहरु कोहि थिए होला त ? पक्कै पनि थिएनन् । उनकै सहकर्मीले उनलाई वर्खास्ती गर्न प्रधानमन्त्री आेलीको दैलो चहारेको कुरा हामी सवैलाई थाहा छ ।

देशमा बढेको अराजकता, महिला हिंसा, हत्या, बलात्कार जस्ता जघन्य अपराधका घटना बढि रहेको अवस्थामा गृहमन्त्रीले देखाएको चासो र संवेदनालाई धेरैले कमजोरीका रुपमा आैल्याउन थालेका छन् । सरकारको संयन्त्रलाई नै निष्पक्ष छानवीनमा अवरोध पुर्याएर गृहमन्त्रीको राजीनामा माग्नु कत्तिको जायज कुरा हो यो सवैले बुझ्न जरुरी छ ।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राबारे गरेको टिप्पणी कै कारण कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरे । चाहे त्यो कुरा जे सुकै होस तामाङले महिला हिंसाको विकराल रुप बढ्ने क्रममा रहेकाले हाम्रा चेलीहरुलाई मुलुक मै अध्ययन गर्ने व्यवस्था सरकारले गर्नु पर्छ भन्ने आशयका साथ बोलेका थिए । उनले कुनै नारीको अपमान गर्ने तवरले बोलेका थिएनन् । तर, एकजना जनजाती सामान्य कुरा बोेलेकै आधारमा यसरी पदबाटै राजीनामा दिनु समेत बिडम्बना होइन र ?

राजनीतिमा नैतिकताका साथ लागेका तामाङले प्रधानमन्त्री आेलीको निर्देशन पालना गद्रै बिना कुनै अवरोध राजीनामा दिएर मार्ग प्रशस्त गरिदिए । तर, यस्तै कुरा अरु कुनै चुच्चे नाकवालाले बोलेको हुन्थ्यो भने उसले राजीनामा त के माफी सम्म माग्दैन थियो । नेपालमा यस्ता धेरै कुराहरु छन् । यहाँ भनि साध्य नै छैन् ।

आम जनजाती महिलाहरु अहिले पनि समाजमा खुलेर आउन सक्ने अवस्था छैन् । सरकारले आरक्षणका रुपमा दिएको कोटा हामी जनजातीलाई नै हेप्ने प्रवृत्तिको देखिन्छ । कुनै ब्राहमण समुदायको पुरुषले जनजाती महिलासंग याैन् सम्बन्ध राख्न सक्छ तर, बिहे गर्न भने उ डराउछ । आखिर हामी जनजातीहरु यसरी दमनको जाँतोमा पिसिएर कति दिन सम्म बाँच्ने ? यसको लागिब तपाईँ जस्ता हाम्रा प्रतिनीधिले लडनु हुनेछ भन्ने आशा छ । जनजाती महिलालाई कमोडिटीका रुपमा चुच्चे नाकवालाहरु प्रयोग गर्न त चाहन्छन तर सिमित स्वार्थ पुरा नहुन्जेल मात्र ।

सरकार जनजाती पर्ति कति उदासिन छ भन्ने कुरा हामी जनजाती नेता आङकाजी शेर्पालाई लिन सक्छाैँ । भलै उनी गलत होलान तर उनले उठाएका सवै माग नाजायज छन त ? पक्कै पनि उनी सवै कुरामा गलत छैनन् । तर सरकार उनलाई बोल्ने वित्तिकै जेलको काल कोठरीमा कोच्न तम्सी रहेको हुन्छ ।

केहिदिन पहिले सातै प्रदेशका मुख्य मन्त्रीहरुको भेला पोखरामा सम्पन्न भयो । जसमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै पार्टी नेतृत्व सरकारको खुलेआम विरोध गरे । उनले प्रदेश सरकारलाई सरकारी संस्थान जस्तै व्यवहार गरिएको भन्दै चित्त दुखेको बताए । तर, यसैमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारको वचाउ गरे । आखिर गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विरोधका लागि विरोध गरेका थिए होला त ? पक्कै पनि उनले प्रदेशलाई अधिकार सम्पन्न गरेर जनताको काम गर्नमा सरकारले अवरोध खडा गर्न हुदैँन भनेर विरोध गरेका न थिए ।

कैलालीमा थारु जनजातीमाथी सरकारले गरेको दमन होस या तराईमा सिके राउतको समर्थन गर्यो भनेर हिरासतमा लिएर रहस्यमयी मृत्यु गराइएको रामरोहन यादव हुन् । चुच्चे नाकवाला सरकार हामी विरुद्ध लाग्ने गरेको छ नै । आजसम्म नेपालको राजनीतिमा होमिएका जनजातिहरु बाहुनको जयजयकार नगर्दा कसरी पछारिएका छन बन्ने कुरा तपाईँ कै पूर्व पार्टी एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईलाई लिन सक्छाै । यसकारण तपाईँ त्यो महासागरबाट भागेर होइन त्यहि बसेर संघर्ष गरेर जनजातीका मुद्धा स्थापित गरेउने देखि जनजातीको पक्षमा निरन्तर आवाज उठाउनु हुने छ भन्ने विश्वास गरेको छु ।

यतिबेला देशमा दुई ठूला कम्युनिष्ट पार्टी एकताको प्रक्रियामा छन् । तपाईँ जनवर्गिय संगठन विद्यार्थीको नेतृत्व गरिरहनु भएको छ ।विद्यार्थी एकताको कुरा आफ्नो ठाँउमा होला तर आज विद्यार्थी संगठन तपाईकै नेतृत्वमा भएको बेला प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जाको व्यवस्था हुँदैछ । विश्वविद्यालयमा भएको अनावश्यक राजनीति र हस्तक्षेपकारी नीतिलाई परास्त गर्न पक्कै पनि लड्नु हुने नै छ । आशा छ सिंगो मुलुक र हामी थेप्चो नाकवालाहरुको हक हित र पक्षमा अन्तिम सम्म पनि लड्नु हुनेछ ।

हामी सवै जनजाती लगायत तपाईँको जय होस् ।

अभिवादन सहित लालसलाम !

अशोक तामाङ
सुनकोशी गाउँपालिका-०५, सिन्धुपाल्चोक

प्रकाशित मिति: Nov 2, 2018

प्रतिक्रिया दिनुहोस्