Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का सामुदायिक विद्यालयका शिक्षकहरु जो घरमै बसेर खान्छन् तलब

जनकपुरधाम : सरकारले सबैका लागि शिक्षामा हसज पहुँच आर्कषक नारा दिएपनि सामुदायिक बिद्यालयका शिक्षकहरु कामै नगरी सरकारी तलवभत्ता लिने गरेका छन । डेढ दशक देखि दरबन्दी मिलान हुन नसक्दा धनुषाका विद्यालयमा कतै शिक्षक नै छैन भने कतै विद्यार्थीभन्दा शिक्षक बढी छन्, जसले कामैनगरी तलवभत्ता पाइरहेका छन् ।

प्रदेश नम्बर २ को मुकाम जनकपुरधाम देखि ३० किलोमिटर पुर्बमा पासवानहरुको बस्तीमा रहेको दलित जागरण राष्ट्रिय प्राथमिक बिद्यालय तिन महिनादेखि बन्द छ । बिद्यालयमा शिक्षक नहुँदा पठनपाठन नै बन्द भएपछि धनुषाको कमला नगरपालिका वडा नम्बर ५ सलहेश टोलका १ सय ५० भन्दा बढि बालबालिकाहरु खेलकुद र गोठालामै समय बिताउन बाध्य रहेको स्थानीय रामबहादुर पाशवानको गुनासो छ ।

जानकपुरधाम शहर भित्रको बिद्यालयहरुको अबस्था भने फरक छ । शिक्षा नियामावलीमा तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ३० जना विद्यार्थी बराबर एकजना शिक्षक राख्ने प्रावधान छ । तर जनकपुरकोे जानकी मन्दिर र पगलाबाबा धर्मशाला नजिक रहेको सिताराम राप्रावि र राप्रावि दशरथ नगरका मात्र दुई विद्यालयमा ६० जना विद्यार्थीका लागि १२ जना शिक्षक खटाएको छ ।

थोरै विद्यार्थीमा यति शिक्षक किन राखिएको छ भन्ने पश्न गर्दा राप्रावि दशरथनगरका प्रध्यानाध्यापक विन्देश्वर यादवले माथिबाट नै बढी शिक्षक पठाएको कारण राखिएको बताए । शिक्षक संघ-संगठनका अगुवा र राजनीतिक दलका नेतासंग निकट सम्बन्ध रहेका शिक्षक सदरमुकाम केन्द्रित हुँदा धनुषाका सामुदायिक विद्यालयको दरबन्दीमा ठुलो विभेद देखिएको छ ।

जसको कारण जनकपुरधाम नगरपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको अबस्था कयौं गुणा बढि रहेपनि अहिले सम्म दरबन्दी मिलान गरिएको छैन । धनुषाका दुई सय ८६ वटा प्राथमिक विद्यालयमा १३ सय भन्दा बढि शिक्षक कार्यरत छन् ।

लामोसमयदेखि यस्तो व्यथिती रहेपनि विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान गरिएको छैन । जसले सामुदायिक विद्यालयको पठनपाठन नै प्रभावित भएको छ ।

प्रकाशित मिति: Nov 2, 2018

प्रतिक्रिया दिनुहोस्