Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहसचिवको उपस्थितिमा सिंहदरवारभित्रै राष्ट्रिय परिचयपत्र छपाई सुरु

काठमाडौ : राष्ट्रिय परिचयपत्र छपाईको काम सुरु भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले विहिबारदेखि परिचयपत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो । गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालयभित्र राष्ट्रिय परिचयपत्र छपाईको काम सुरु गरिएको हो ।

पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरि १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाईको काम गरिने छ । तीन बर्षमा मुलुकभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित केन्द्रले चालू आर्थिक बर्षमा १५, अर्को बर्ष २५ र तेश्रो बर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिका तय गरेको छ ।

निर्धारित समयभित्रै कार्ड वितरण गर्नका लागि कम्तिमा प्रतिघण्टा ४ हजार कार्ड छाप्न सक्ने मेसिन १८ घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मेसिनको क्षमता अभिवृद्धि तर्फ लाग्नुपर्ने आवश्यकता रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले बताए । २०६७ सालमा सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्छौ भने पनि अहिलेसम्म हुन सकेको छैन ।

पहिलो चरणमा छापिएको राष्ट्रिय परिचयपत्र वितरण यसै महिनामा गरिने लक्ष्य केन्द्रले लिएको केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले जानकारी दिए । पाँचथरमा भरिएको नागरिकको विवरणलाई केन्द्रको सिस्टमले लिएर भेरिफाई गरेपछि कार्ड छापिने भएपनि वितरणको समयमा पनि नागरिकको बायोमेट्रिक परीक्षण गरी वितरण गरिन्छ ।

नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको स्थापना गरिनेछ भन्ने उल्लेख छ । सोही व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरि सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि छपाईको काम सुरु गरेको हो । नागरिकको तथ्याङ्क संकलनका लागि केन्द्रले पाँचथर जिल्ला प्रशासन कार्यालयमा फिक्स स्टेशन र वडा वडामा मोबाईल स्टेशन खडा गरेको छ ।

वडा-वडामा परिचालन भएका २० वटा टोलीले संकल गरी पठाएको विवरण सिंहदरबारस्थित सेन्टर सर्भरमा आएपछि केन्द्रीय अधिकारीले परीक्षण गरि कार्डमा भरिने विवरणलाई अन्तिम टुंगो लगाउँछन् । त्यसपछि पुन जिल्लास्थित नागरिकको बायोमेट्रिक परीक्षणपश्चात मात्रै कार्ड वितरण गर्ने गरिन्छ ।

तीन बर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिएको केन्द्रसंग अहिले प्रतिघण्टा ५ सय कार्ड छपाई गर्नसक्ने क्षमताको एउटा मात्रै मेसिन छ ।

 

प्रकाशित मिति: Nov 1, 2018

प्रतिक्रिया दिनुहोस्