Logo
७ बैशाख २०८१, शुक्रबार
(October 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिपिएल : लगातार तेस्रो हारसँगै सन्दीपको टिम कठिन अवस्थामा, काठमाडौंको लगातार दोस्रो जित

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हुलास काठमाडौं रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ।

सोमबार विहान पोखरा रंगशालामा विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले ४ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्‍यो।

लगातार तेस्रो हारसँगै स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो चरणबाटै बाहिने खतरामा परेको छ। यता लगातार दोस्रो जित हात पारेको काठमाडौंमा भने सहज अवस्थामा छ।

यसअघि पहिलो खेलमा विराटनगरलाई घरेलु टिम पोखराले ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा पनि विराटनगरलाई एक्पर्ट धनगढी बुल्जले ७८ रनको विशाल अन्तरले पराजित गर्यो। अब विराटनगरले  चौथो खेलमा बुटवल ब्लास्टर्ससँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा विराटनगरको भिडन्त राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौंका लागि गौरव तोमरले अर्धशतक प्रहार गरे। उनले ६६ रनको योगदान गरे। विराटनगरका कप्तान सन्दीप लामिछानेको बलमा एन्ड्रिउ सुविक्षणबाट क्याच आउट हुनुअघि ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। गौरवले शनिबार भएको धनगढीविरुद्धको खेलमा ९५ रन प्रहार गरेका थिए।

‌ओपनिङ ब्याट्सम्यान अमित श्रेष्ठले ३५ रनको योगदान दिए। विराटनगरका सहाब अलामको एलबिडब्लुको धरापमा पर्नुअघि उनले ३३ बलमा ६ चौका प्रहार गरे। उनले दोस्रो विकेटका लागि गौरवसँग ६२ रनको साझेदारी गरेका थिए। अर्का अर्का ओपनर जयकिशन कोल्सवाला ६ रनमै आउट भए। नरेश बुढाऐर शून्य रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बटुले। ज्ञानेन्द्रले जितेन्द्र मुखियाको बलमा प्रदीप ऐरीबाट क्याच हुनुअघि १६ बलमा २ चौका प्रहार गरे। अमरसिंह रटेउलाले नटआउट ९ र पृथु बास्कोटाले नटआउट ५ रन जोडे।

बलिङमा विराटनगरका सहाब अलामले २ विकेट लिए। सन्दीप लामिछाने, जितेन्द्र मुखिया र किशोर महतोले १-१ विकेट हात पारे।

त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो।

पोखराका लागि ओपनिङ ब्याट्सम्यान मोहमद जायद अलामले अर्धशतक प्रहार गरे। उनले ४७ बलमा ६७ रन जोडे। विराटनगरको इनिङ उकास्ने क्रममा पाकिस्तानको यू-१९ टिमबाट खेलिसकेका जायदले ७ चौका र ४ चौका प्रहार गरे। अर्का ओपनर सुनील धमलाले ३० रन जोडे। २९ बल खेलेका धमलाले १ चौका र ३ छक्का हिर्काए। राजेश पुलामी मगरले ३० रनको योगदान गरे। उनले २७ बल खेलेर समान १-१ चौका र छक्का हिर्काए।

एन्ड्रिउ सुविक्षणले ४ रन र पुष्प थापा १ रनमै आउट भए। प्रदीप ऐरीले रनआउट हुनुअघि ५ बलमा ९ रन जोडे भने राजु रिजाल १ रनमै आउट भए।

बलिङमा काठमाडौंका गौरव तोमर, बसन्त रेग्मी र सुसन भारी समान १-१ विकेट लिन सफल भए।

जारी प्रतियोगितामा विराटनगरले सुरुवाती २ खेल हारिसकेको छ भने काठमाडौंले पहिलो खेलमा जित हात पारेको थियो।

प्रकाशित मिति: Oct 29, 2018

प्रतिक्रिया दिनुहोस्