Logo
१३ बैशाख २०८१, बिहीबार
(October 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरामी रहेका प्रधानमन्त्रीले ठाकुरलाई भेट्न बोलाए, तत्काल सार्वजनिक कार्यक्रममा सहभागि नहुने

काठमाडौं : स्वास्थ्य अवस्था बिग्रिएका कारण आफ्नै पार्टीको चियापान कार्यक्रममा सहभागी हुन नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई भेट्न बोलाएका छन् ।

राजपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संयोजक ठाकुरसँग समसामयिक राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा छलफल गर्नेछन् ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार भेटवार्ता गर्ने जनाइएको छ । राजपालाई सरकारमा ल्याउने विषयमा पनि भेटका क्रममा छलफल हुने बताइएको छ ।

पार्टीले संविधान संशोधन र फौजदारी अभियोग लगाइएका निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ ।

ओली सरकारलाई समर्थन गरेको राजपाले माग पूरा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । संविधान संशोधन, मधेश आन्दोलनका मुद्दा फिर्ता र रेशम चौधरीको सवाललाई राजपाले उठाउँदै आएपनि सरकारले सम्बोधन गर्न सकेको छैन ।

प्रधानमन्त्री ओली तत्काल सार्वजनिक कार्यक्रममा सहभागि नहुने

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे सचिवालयले औपचारिक रुपमा जानकारी गराएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन काफ्लेले आइतबार एक प्रेस नोटमार्फत ओली बालुवाटारस्थित निवासमा आराम गरेर बसिरहेको जानकारी गराएका छन् ।

ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको बताउँदै काफ्लेले चिकित्सकको सल्लाहबमोजिम उनी दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी दिए ।

हाल ज्वरो नियन्त्रणमा आई ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार रहेको जानकारी दिँदै काफ्लेले शुक्रबार स्थगित भएको क्याबिनेटको बैठक आइतबार प्रधानमन्त्री निवासमै बस्न लागेको पनि जानकारी दिएका छन् ।

स्वास्थ्यमा पूर्ण सुधार नभएसम्म ओली सार्वजनिक कार्यक्रमहरुमा सहभागि नहुने पनि काफ्लेले जानकारी दिए । यसअघि स्वास्थ्यमा समस्या रहेकै कारण नेकपाका अध्यक्ष समेत रहेका ओली शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन सकेका थिएनन् ।

प्रकाशित मिति: Oct 28, 2018

प्रतिक्रिया दिनुहोस्