Logo
१५ चैत्र २०८०, बिहीबार
(October 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानकी मन्दिरमा धुमधामसँग कोजाग्रत पूजा

जनकपुर : जानकी मन्दिरमा बुधबार विहानैदेखि धर्मालम्बीको भीड छ । कोजाग्रत पूर्णिमाको दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजापाठ गरिएको छ । मन्दिरका महन्त रामतपेश्वर दास र उनका उत्तराधिकारी रामरोशन दास बुधबार विहानैदेखि विशेष पूजापाठको तयारीमा आफै खटिए ।

अन्य दिनको तुलनामा मन्दिरमा बुधबार धर्मालम्बीको भीड छ । महोत्तरीको रतौलीबाट जानकी मन्दिरमा चढाउनका लागि भार(पूजा समाग्री र खानेकुरा) ल्याइयो । दही, च्यूरा, मखान, घिउ, चामल, दाल र तरकारी सहितको समाग्री रतौलीबाट जानकी मन्दिरसम्म ट्रयाक्टरमा राखेर ल्याइएको थियो । रतौलीको पूजा समाग्री पुगेलगत्तै जानकी मन्दिरमा कोजाग्रत पूर्णिमा धुमधामका साथ मनाइयो ।

दसैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । असोज शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि सुरु भएको दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन लक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा विशेष पूजा गर्ने चलन वर्षौदेखिको रहेको बताए । ‘कोजाग्रतको पूजा हेर्न जानकी मन्दिरमा नेपाल-भारतबाट थुप्रै धर्मालम्बी आउँछन,’उनले भने,‘सबैलाई प्रसाद बाँडेर पूजा मनाइन्छ ।’

कोजाग्रत पूर्णिमाको दिन जानकी मन्दिरमा चढाउनका लागि प्रसाद समाग्री बेच्नेको परिसरमै भीड छ । जानकी मन्दिरकै आँगनमा दोकान थापेका कारोबारीले मखान, काजु, बदाम, मिसरी, नरिवल लगायतका समान बेचिरहेका छन् ।
कोजाग्रत पूर्णिमाको विशेष पूजा हेर्न जानकी मन्दिर पुगेका यहाँका समाजसेवी अमरचन्द्र अनिलले पर्वत्योहारले समाजलाई एक–आपसमा बाँध्ने र धर्म–संस्कृतिको संरक्षण पनि हुँदा कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा धर्मालम्बीको भीड लाग्ने गरेको बताए ।

प्रकाशित मिति: Oct 24, 2018

प्रतिक्रिया दिनुहोस्