Logo
१३ बैशाख २०८१, बिहीबार
(October 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौरमा उभिएर शपथग्रहण गरेका अध्यक्षले एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण

बनेपा : जिल्लाको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करिब एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ । सङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछि निर्वाचित भएका जनप्रतिनिधिले भवन अभावका कारण महाभारत गाउँपालिकाको वडा नं ६ स्थित चौरमा नै उभिएर शपथग्रहण गरेका थिए । 

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले चौरमा नै उभिएर शपथग्रहण गरेको र अहिले गाउँलेको ठूलो सहयोगबाट १६ रोपनी जग्गा प्राप्त गरी गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएको बताए । सुरुमा अस्थायी केन्द्र वनखुको कोलटारमा तोकिएको भए पनि सबैको पायक पर्ने ठाउँमा केन्द्र नभएको भन्दै केन्द्र सार्नुपर्ने माग बढ्दै गएको थियो । 

अध्यक्ष जिम्बाका अनुसार सबैको सहमतिमा पायक गर्ने स्थान देवीटारमा केन्द्र सार्ने सहमति गरेपछि स्थानीयबाट जग्गासमेत उपलब्ध भएका कारण कार्यालय निर्माण गरेको हो ।  आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट गाउँपालिकाको कार्यालय निर्माण गर्न एक करोड ४० लाख छुट्याएकोमा करिब एक करोडमा भवन निर्माण गर्ने ठेक्का सम्झौता गरी अहिले आठ कोठे भवन र एउटा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

वडा नं ६ का वडाध्यक्ष रमेश लुंगेली मगरले गाउँपालिकाको लागि जग्गा प्राप्त गर्न १७ जना वडा बासिन्दाले सहयोग गरेको बताए। उनका अनुसार बुम्बा दोर्जे लामा, भीमबहादुर थिङ, लवध्वज वाइबा, बमबहादुर अस्तानी, छेवाङ दोर्जे लामा, पदमबहादुर माझी, भोरसबहादुर मोक्तान र दर्जमान मोक्तानले गाउँपालिकालाई जग्गादान गरेका छन् । -रासस
 

प्रकाशित मिति: Oct 22, 2018

प्रतिक्रिया दिनुहोस्