Logo
७ बैशाख २०८१, शुक्रबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट छैन : अख्तियार प्रमुख घिमिरे

पोखरा : अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट स्थानीय तहलाई नभएको बताएका छन् । उनले जनतासँग प्रत्यक्ष सेवा प्रवाहमा जोडिएका स्थानीय तहमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढेको बताए ।

पहिला शिक्षाका उजुरी बढी आउने गरेकोमा अहिले स्थानीय तह अग्रस्थानमा रहेको उनको भनाई थियो । जनतासँग प्रत्यक्ष जोडिने सेवा प्रवाह दिने निकायबाट हुने यस्तो क्रियाकलापले संघीयता सफल नहुने भन्दै उनले यसमा तीनवटै सरकारको सजगता आवश्यक रहेको बताए ।

स्थानीय तहमा हुने भ्रष्टाचार तथा अनियमितताका उजुरी अत्याधिक आउने गरेको प्रसंग कोट्याउँदै उनले यो विडम्बना भएको बताए। ‘कानुन निर्माण तथा अन्य कामको चाप भएकाले संक्रमणकाल भनिएको छ,’अख्तियारको पोखरा कार्यालयको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै बुधबार उनले भने,‘संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई छैन ।’

उनले स्थानीय तहको क्रियाकलापलाई नजिकबाट हेरिरहेको र यसरी अत्याधिक उजुरी आउनु पीडादायी भएको बताए । सरकारको निर्माण सम्बन्धि काममा जटील समस्या रहेको उनले बताए । ठेक्का लिने तर समयमै काम नसक्ने प्रवृति हावी भएको भन्दै यस सम्बन्धमा अब आयोग टुलुटुलु हेरेर बस्न नसक्ने जनाए । सम्झौता र शर्त पनि कानुन भएकाले त्यसलाई हुबहु कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

जनतालाई चुस्तरुपमा सेवा प्रवाह गर्नुपर्ने र यसो हुन नसके जनताले राष्ट्रसेवकलाई छुट दिइरहन्छन भन्ने नसोच्न उनले आग्रह गरे । १४ करोड ७२ लाख २६ हजार रुपैयाँको लागतमा बन्न लागेको यो भवनमा मुख्य कार्यालय भवन र थुनुवा कक्षसहित प्रहरीको छुट्टै भवन निर्माण हुनेछ । २०७० असोज १ मा पोखरामा अख्तियारको कार्यालय स्थापना भएको थियो । हालसम्म नयाँबजारस्थित आन्तरिक राजस्व कार्यालयको भवनमा कार्यालय रहेको छ ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्