Logo
१५ चैत्र २०८०, बिहीबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बडा दशैं सुरु : आज घटस्थापना, यस्ता छन् विविध स्वरुपसँग जोडिएका तथ्यहरु

काठमाडौँ :  उल्लासका साथ मनाउने चाड दसैँ बुधबार (आज) देखि सुरु भएको छ । आज घटस्थापना दसैँको पहिलो दिन । आज नवरात्रिको प्रथम दिन अर्थात् घटस्थापना हो । महान् चाड बडा दशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। साथै, बालुवा अथवा माटो ल्याई आजको दिन जौ रोपिन्छ जसलाई जमरा राख्ने पनि भनिन्छ। जौको अङ्कुर देवी दुर्गाको प्रिय वस्तु भएकाले आज जौ रोपी दुर्गालाई चढाइन्छ र विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । आज घटस्थापनाको शुभ साहित बिहान ७:१५ बजे रहेको छ।

यसको सरल शाब्दिक अर्थ छ, घट–कलश र स्थापना–थापना गर्ने। गंगा जल भरिएको कलशलाई स्थापना गरेर भगवानको आरती गर्नु घटस्थापनाको मुख्य कर्म भनिन्छ । यो दिन जमरा राखिन्छ। घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दावन संघारको लागि आराधना गर्न कलश स्थापना गरिन्छ। वैदिक कालबाट नै चलिआएको यो परम्परले कलशमा स्वर्ग, मर्त्य पातालको सबै देवताको बास रहने मान्यता राख्छ। यस्तै संस्कृति शिरामणि हरिराम जोशीले भने, ‘हामी टंगालको जोशीहरु कलश स्थापना गरिसकेपछि देवताको पूजा गर्न बाहिर जाँदैनौँ, जसको घरमा कलश स्थापना गरिएको छ, बाहिर जानु पर्दैन ।’

दानवहरुको राजा महिसासुरको अन्त्यसँग जोडिएको यो पर्वलाई मोहनी पर्वको रुपमा पनि हेर्ने गरिएको संस्कृति शिरोमणि जोशी बताउँछन्। ‘सत्ययुगमा महिसासुर दानवले आफ्नो शक्तिको दुरुपयोग गरेर देवता र मावनलाई दुःख दिएका थिए । असाध्यै शक्तिशाली यी दैँत्यहरुले स्वर्ग मर्त्य र पाताल तीनै लोकमा आफ्ना नराम्रा कामले दुःख दिएपछि तीनै लोकबाट दुर्गालाई दैत्य संहारको लागि आराधना गरियो र दुर्गाले यी राक्षसको अन्त्य गर्न सुन्दर युवतीको भेष बदलेर दानवहरु आउजाउ गर्ने बाटो नजिक तपस्या गरेझैँ गरेर बसिन् ।’

संस्कृति शिरोमणि जोशी भन्छन्, ‘देवीको सुन्दरतामा मोहित भएर उनलाई लैजान खोज्नेहरुसँग देवीले ‘युद्ध गर, जितेर लैजाउ’ भन्दै युद्ध गर्न थालिन् र सुम्भ निशुम्भसँगै सबै नाइके दानवलाई मार्दै नऔँ दिनमा दानव मैसासुरको वद् गरेकी थिइन्।’ यसै दिनको उत्सव विजया दशमी हो ।

वैदिक कालदेखि नै यज्ञ गर्ने बेलामा जौको प्रयोग गरिन्छ, जौलाई संस्कृतमा अज भनिन्छ। दानव संहार गरिसकेपछि विजय उत्सवमा लगाउने फूल यहि अजको विरुवा रुप हो । कहिँ कहिँ मकैको जमरा राख्ने चलन छ, संस्कृति शिरोमणि जोशी भन्छन्, ‘जौ नभएको ठाउँमा के अर्कै अन्न राख्नपर्यो नि। त्यसैले मकैको पनि जमरा राखिन्छ।’ नौ दिनको युद्ध सकेर दशमीको दिन विजय उत्सव मनाउनको लागि नौरथाको सुरुमा नै जमरा राख्ने चलन छ ।

विजया दशमीमा टीका लगाएर जमरा लगाएर विजय उत्सव मनाइन्छ भने कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म दीपावली गर्ने चलन पनि छ। यो चलन पौराणिक कालदेखि नै चलन सुरु भएको हो । तर नेपालमा ७ सय वर्ष अगाडि नौरथा मनाउने गरेको तथ्य भएको संस्कृति शिरोमणि जोशी बताउँछन् । ‘यो लिच्छविकाल भन्दा पछाडि र मल्लकालभन्दा अगाडि देखि यो चलन सुरु भएको हो।

प्रतिपदाका दिन अर्थात् घटस्थापनाको दिन पूजाआराधना गरिने भगवतीको पहिलो स्वरूपको नाम शैलपुत्री हो। हिमालयका पुत्री भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो। साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल हुन्छ। पूर्वजन्ममा यिनी प्रजापति दक्षकी छोरीको रूपमा जन्मेकी थिइन् ।

नवरात्रीको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो । यो माता दुर्गाको दोस्रो स्वरूप हो। ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ। तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो। यो देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ। देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम बढ्दै जाने उसलाई विजय हात लाग्ने विश्वास गरिन्छ ।

माता दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो। चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ। यो देवीको १० वटा हात र दस हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ। उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो। चौथो दिन पूजा गरिने भगवतीको नाम कुष्माण्डा हो। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो।

यी देवीको आठ हात भएका हुनेभएकोले यीनलाई अष्टभुजा देवी पनि भनिन्छ।  नवरात्रीको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन्। यिनी कमलको फूलमा आसिन हुन्छिन्। कमलको फूलमा आसन गर्ने भएकोले यीनलाई पद्मासना देवी पनि भनिन्छ। नवरात्रीको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ। चार हात भएकी यी देवीको वाहन सिंह हो।

सप्तमी फूलपाति हो, यो दिन पूजा गरिने शक्तिस्वरूपा भगवती कालरात्रि हुन्। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी कालरात्रि हुन्। उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ। घाँटीमा बिजुली जस्तै झल्कने माला हुन्छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो हुन्छ भन्ने मान्यता छ।

पूजा गर्दा नौ दिनसम्म कुन-कुन दिन कसको र के-के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।

१. पहिलो दिन

घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । घटस्थापनाको उत्तम साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ ।

गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

२. दोस्रो दिन

दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

३. तेस्रो दिन

तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैंभरि रहन्छ ।

४. चौथो दिन

चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ ।

५. पाँचौ दिन

पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरिन्छ । स्कन्धमाताको पूजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।

६. छैटौँ दिन

आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा आराधना गर्नुपर्दछ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने र विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने छ ।

७. सातौँ दिन

नवरात्रको सातौं दिन अर्थात् सप्तमीमा पूजा कोठा वा दशैं घर मा फूलपाती भित्राउने चलन छ । यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ । कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।

सप्तमीको दिन तुलजा भवानीको यात्रा बिहान ९ बजेर २१ मिनेटमा र स्थिराशन बिहान १० बजेर २ मिनेटमा निर्धारण गरिएको छ ।

८. आठौँ दिन

महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्दछ । यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

९. नवौं दिन

घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गर्नुपर्दछ । घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्