Logo
१३ बैशाख २०८१, बिहीबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको अर्को शानदार जित, ३३ रनमा समेटियो भुटान

सन्दीप लामिछाने, फाइल तस्बिर

काठमाडौँ :  मलेसियामा जारी आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनौट अन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगितामा नेपालले भुटानमाथि ११७ रनको शानदार जित दर्ता गरेको छ । १५१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको भुटानले १६ ओभर चार बलमा सबै विकेट गुमाएर मात्रै ३३ रन बनायो । नेपालका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन तीन विकेट लिए ।

यस्तै बसन्त रेग्मीले दुई तथा दीपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले एक एक विकेट लिए । भुटानका तेन्जिन वाङ्चुक जुनियरले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ओभरमा चार विकेटको क्षतिमा १५० रन बनायो । नेपालका लागि प्रदीप ऐरीले ६८ बलमा नटआउट ७५ रन बनाए ।

यस्तै अनिल कुमार साहले २१ बलमा २७ रन बनाए । यसैगरी आरिफ शेखले १३, दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए । प्रयोगितामा नेपालको यो लगातार चौथो जित हो । नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान आठ विकेटले हराएको थियो। तेस्रो खेलमा आइतबार थाइल्याण्डलाई डकवर्थ लुइस नियमका आधारमा एक सय ४० रनले पराजित गरेको थियो।

प्रतियोगिताका चार खेलमा नेपालका सन्दीप लामिछानेले १७ विकेट लिएका छन्। एसियाली छनौटमा ६ टोली हुनेछन्। एसियाली छनौटबाट शीर्ष दुई टोली विश्वस्तरको छनौटमा पुग्नेछन्। ट्वेन्टी–ट्वेन्टी विश्वकप सन् २०२० मा आयोजना हुँदैछ। नेपालले यसअघि सन् २०१४ को ट्वेन्टी-ट्वेन्टी विश्वकप खेलेको थियो।

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्