Logo
७ बैशाख २०८१, शुक्रबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसैँ खर्च जुटाउनका लागि प्रधानमन्त्रीलाई भेट्‍न जंगलका ‘राउटे राजा’ राजधानी तिर

सुर्खेत : दसैँ खर्च जुटाउनका लागि राउटे समुदायका मुखिया अर्थात जंगलका ‘राउटे राजा’ देशको प्रधानमन्त्रीलाई भेट्‍न राजधानी तिर लागेका छन् । सुर्खेतको लेकवेशी नगरपालिका–९ गंगटेमा बस्दै आएको राउटे समुदायका तीन जना ‘जनता’ सहित मुखिया सोमबार संघीय राजधानी हिँडेका हुन् ।

राउटे लोपउन्मुख सीमान्तकृत वर्ग उत्थान नेपालको संयोजनमा प्रधानमन्त्री केपी शर्मा वलीलाई भेट्न मुखिया हरिबहादुर शाही काठमाडौं हिडेका छन् । नेपालीहरुको चाड दसैँतिहार नजिकिएसँगै प्रधानमन्त्रीसँग भेट गर्ने र ‘जनता’ का गुनासो सुनाउँन काठमाडौं जान लागेको उनले बताए ।

दैलेखको गुरास गाउँपालिकामा बस्दै आएका ४० घर राउटे सुर्खेतको लेकवेशी केही दिन पहिले वस्ति सेरेका छन् । गुरास गाउँपालिकाले राउटेलाई अस्थायी परिचय पत्र वितरण गरेको थियो। तर, उनीहरुले परिचय पत्र त्यागेर लेकवेशी झरेका हुन् । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायको दशै र माघी सबैभन्दा ठूलो पर्व हो। दशै नजिकिएसँगै प्रधानमन्त्री केपी शर्मा वलीलाई भेटेर दशै खर्चसँगै राउटेका लागि घुमन्ते निती बनाउन माग गर्ने योजनासहित राजधानी हिडेको मुखिया हरिबहादुरले बताए ।

दशैका लागि प्रधानमन्त्रीले भेट्न बोलाएको उनले बताए। ‘दशैका लागि माग (बोलाइयो) भयो, माग अनुसार गइसके पछि दाना (चामल) दिनैपर्छ । दाना नदिए राउटेले कसरी दशै मनाउने, क्याँ खान्या, क्याँ लाउन्याँ, त्यो पनि चाहियो नी ?’ उनले भने,‘दशैका लागि जनताले पढाएको छ । प्रधानमन्त्रीलाई भेटेर खाना चाहियो, लाउन्याँ चाहियो भन्छु म।’

जनताका लागि लुगालत्ता र खानेकुरा ल्याउने प्रतिवद्धतासहित उनीले राजधानी हिडेका हुन् । दशैका लागी बली (खसी) ल्याएरै आउने उनले बताए । उनले वस्ति जहाँ सर्‍यो त्यही ठाउँबाट राज्यले दिने सामाजिक सुरक्षा भक्ता पाउनुपर्ने बताए । प्रधानमन्त्रीले दशै खर्च दिएपछि फर्किने बताए । जनताले छिट्टै फर्किनु भने पनि प्रधानमन्त्रीबाट खसी नल्याएसम्म नफर्किने योजना उनले बनाएका छन् ।

राउटे लोपउन्मुख सीमान्तकृत वर्ग उत्थान नेपालका उपाध्यक्ष यज्ञबहादुर बुढा मगरले बताए । उनले राउटेका लागि सरकारले फिरन्ते नीति ल्याउनुपर्ने बताए । उनले पछिल्लो समयमा राउटे समुदाय असुरक्षित भएको बताए। दैलेखमा बस्दा असुरक्षा महसुस गरी राउटेले बस्ती सकेको दाबी उनको छ ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्